झापा, कात्तिक १४ । आगामी मंसिर ७ देखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेको दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले स्थापनाको करिव तीन वर्षको अवधिमा यसअघि चारपटक आन्दोलन गरिसकेको छ ।

त्यसमध्ये कुन सफल र कुन असफल रह्यो समीक्षाकै विषय बन्न सक्छ । विगतका आन्दोलनलाई आधार मानेर प्रसाईले गर्न लागेका मंसिर ७ को आन्दोलनलाई आँकलन गर्दै सरकारले पूर्वतयारी गरिरहेको छ ।

पहिला माओवादी र त्यसपछि एमालेमा लागेर राजनीति गरेका बीएण्डसी अस्पतालका संचालक प्रसाईले दुवै पार्टीमा भविष्य नदेखेपछि २०७९ फागुन १ गते पूर्वी सिमाना मेची नदीको बगरमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई बोलाएर राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान घोषणा गरेका थिए । त्यसपछि अभियानको व्यानरमा २०८० मंसिर ७ गते राजधानीको बल्खुमा आन्दोलन गरिएको थियो भने त्यसको एक वर्षपछि २०८१ मंसिर ७ गते सिफलमा आन्दोलन भएको थियो । पछिल्लो पटक उनले २०८१ चैत १५ गते तीनकुनेमा आन्दोलन गरेका थिए । जुन विर्सन लायक बन्यो ।

गत चैत १५ मा संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेको थियो। तीनकुने जनसभामा प्रहरीले व्यापक गोली प्रहार गरेको थियो। यस घटनामा २१ जनालाई गोली लागेको थियो। सबिन महर्जनको मृत्यु भएको थियो भने २० जना गम्भीर घाइते भएका थिए।

चैत १५ कै आन्दोलनका कारण जेलमा बस्नु परेका प्रसाईंले मंसिर ७ गतेदेखि गणतन्त्र र भ्रष्टाचारको विकल्पमा फेरि आन्दोलन गर्ने घोषणा गरेका छन्। प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत ‘बृहत् नागरिक मुक्ति आन्दोलन’का नाममा मंसिर ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भनिएको छ।

जसका लागि अहिले फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम, युट्युब, टिकटकलगायत सबैतिर दर्जनौँ एकाउन्टमार्फत प्रसाईंका समर्थकहरूले मंसिर ७ गते काठमाडौं पुगेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिरहेका छन्। प्रसाईंनिकट व्यक्तिहरूले मंसिर ७ गतेको प्रदर्शनमा देशभरिबाट १० देखि १५ लाख व्यक्ति काठमाडौं उत्रिने दाबी गरेका छन्। कतिपयले
मंसिर ७ को आन्दोलनमा तीनकुने घटनाको पुनरावृत्ति हुने आशंका व्यक्त गरेका छन् ।

यसैबीच बिर्तामोडको सिटी सेन्टरस्थित राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ अभियानको कार्यालयमा मंसिर ७ को आन्दोलनबारे छलफल भएको छ । अभियानको झापा जिल्ला समितिको आयोजनामा अभियानका संयोजक राजेश राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका मेची अञ्चल संयोजक मधुरकान्त सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

उक्त बैठकमा मंसिर गतेबाट शुरु हुने आन्दोलनको क्रममा भैपरी आउन सक्ने आकस्मिक खर्च ब्यबस्थापनको लागि केन्द्रीय सदस्य,अञ्चल सदस्य,जिल्ला सदस्य र नगर सदस्यबाट जनही एक–एक हजार वा सो भन्दा माथि स्वेच्छिक सहयोग संकलन गर्ने निर्णय गरिएको छ । त्यस्तै आन्दोलनका लागि कक्षा ११र १२ पढ्ने बिद्यार्थी,पण्डित तथा सनातन धर्मका ब्राम्हण समाज,पिठक,संघ संस्थासंग समन्वय गर्न १५ वटै स्थानीय तहमा गएर कार्यबिभाजनसहित समिति निर्माण गर्ने निर्णय भएको छ । थप छलफलका लागि भोलि पुनः बैठक बस्ने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्