झापा, कात्तिक १५ । बाढीग्रस्त झापा गाउँपालिकामा नेपाली सेनाको टोली स्टेन्डबाई बसेको छ ।

विगत दुई दिनदेखि अरिदमन गण चारआलीका गणपति प्रमुख सेनानी सरोज थापाको कमाण्डमा ७५जनाको टोली झापा गाउँपालिकामा स्टेन्डबाई बसेको हो । विपद उद्धारका विभिन्न सामग्री र डुङ्गासहित नेपाली सेनाको टोली झापा गाउँपालिका २ स्थित रेडक्रस भवनमा तयारी अवस्थामा बसेको प्रहरीले जनाएको छ ।
विहीवार रातिदेखिको अविरल वर्षाका कारण झापा गाउँपालिका पुनः प्रभावित बन्न सक्ने खतरा रहेको थियो । तर, शुक्रवार राति पहाडी क्षेत्रमा कम वर्षा भएका कारण माईखोलामा पानीको वहाव खासै बढेन ।
गत असोज १८ र १९ गते माईखोलामा आएको बाढीका कारण झापा गाउँपालिकाका ३४३२ घरपरिवार प्रभावित भएका थिए । त्यसबेला बाढी प्रभावितहरुको उद्धार तथा राहतका लागि नेपाली सेनाले देखाएको सक्रियता प्रशंसनीय रहेको थियो ।



