दमक,कात्तिक १५ । जनसंगठनहरुको सहभागितामा नेकपा एमालेले आज झापाको दमकमा मोटरसाइकल र्‍याली निकालेको छ ।


एमाले दमक नगर कमिटीले संविधानको संरक्षण, संसद पुनर्स्थापना लगायतका माग राख्दै आफ्‌ना २३ वटा जनसंगठनहरुको सहभागितामा मोटरसाइकल र्‍याली आयोजना गरेको थियो ।

पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आयोजना गरिएको मोटरसाइकल र्‍यालीमा नेता कार्यकर्ता पानीमा भिज्दै सहभागी भएका थिए ।

जनसंगठन संयन्त्र दमक नगर कमिटीका संयोजक विवेक भट्टराईको नेतृत्वमा पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेश सभा सदस्य होम थापा, पार्टीका झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीसहित करिब १० वटा सानो गाडी, ४५० वटा मोटरसाइकलमा गरि करिब ७०० जनाको उपस्थिति रहेको बताइएको छ ।

दमक ५ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरबाट शुरु भएको मोटरसाइकल र्‍याली दमक ८ को सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, दमक २को आम्दा रोडबाट मदन डाँगी सडक,फाल्गुनन्द चोक हुँदै दमकको गणतन्त्र चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

दमकको गणतन्त्र चोकमा भएको कोणसभालाई सम्वोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले अहिलेको सुशीला कार्की नेतृत्वको सरकारले उपयुक्त वातावरण सिर्जना गरे एमाले चुनाववाट कदापि नभाग्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्