झापा, कात्तिक १६ । आफ्नै पालिकामा दमकल नहुँदा तीन दिनअघि आगलागीबाट ठूलो क्षति बेहोर्नु परेको भन्दै स्थानीयवासीहरुले तत्काल दमकल किन्न गौरीगंज गाउँपालिकालाई दबाब दिएका छन् ।

स्थानीय जेनजी युवाहरुका तर्फबाट अभिशेक राजवंशीको नेतृत्वमा ४०–५० जनाले गाउँपालिका अध्यक्ष फुलवती राजवंशीलाई तत्काल दमकल खरिद गरी संचालनमा ल्याउन दवावस्वरुप ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
छलफलका क्रममा अध्यक्ष राजवंशीले भोलि कार्यपालिका बैठक वोलाई हिउँदे अधिवेशनको मिति तय गरी अधिवेशनबाट दमकल खरिद प्रकृयालाई पारित गर्ने प्रतिवद्धता जनाइन् । उनले खरिद प्रक्रिया शुरु भएको संभवतः दुई महिनामा गौरीगंजमा दमकल आइपुग्ने जानकारी दिएकी छन् ।
बिहीवार राति गौरीगंजको खजुरगाछी बजारमा आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति भएको थियो । गौरीगंजमा दमकल नहुँदा छिमेकी गौरादहलगायतका पालिकाका दमकलले आगो निभाएका थिए ।



