झापा, कात्तिक १६ । झापा शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माका हत्यारासंग करिव एक केजी ब्राउनसुगर जस्तो बस्तु बरामद भएको छ ।

लागूऔषध प्रयोगकर्ता भनिएका शिवसताक्षी–१० माईधारकै २७ वर्षीय सुनिल साह र अन्दाजी २३ वर्षीय राहुल साहसंग सो बस्तु बरामद भएको हो । बरामद भएको लिसाइलो पदार्थको डल्लोलाई परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रहरीले जनाएको छ ।

सरोज शर्मालाई अपहरण गरी भारत लिएर जाने र लागूऔषध देखाएर पक्राउ गर्न लगाई ठूलो रकम फिरौती माग्ने हत्यामा संलग्नहरुको मनसाय देखिएकोमा त्यो सफल नबनेपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले बताए । डीएसपी खड्काले उनीहरु लागूऔषध कारोबारी भए नभएको अनुसन्धान भइरहेको जानकारी दिए । हत्यामा मामा भान्जा सुनिल साह र राहुल साहसंगै एक भारतीयको पनि संलग्नता रहेको खुलेको छ । ती भारतीय फरार छन् ।

सरोज शर्माको हत्या आरोपमा पक्राउ परेका दुवै मामा–भान्जालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सरोजको हत्या आरोपीहरू सुनिल साह र राहुल साहलाई सार्वजनिक गरेको हो ।


घटनाका मुख्य योजनाकार सुनिलले छिमेकी साथी सरोजको हत्या आर्थिक प्रलोभनमा परी गरेको अनुसन्धानको क्रममा खुलेको डीएसपी खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश तथा आपराधिक उपद्रव तथा ज्यान सम्बन्धी कसूरमा मुद्दा चलाएको डीएसपी खड्काले बताए ।

प्रहरीका अनुसार कात्तिक ९ गते बेपत्ता भएकै दिन सरोजको हत्या भएको थियो । काठमाडौँमा आइटीको काम गर्दै आइरहेका सरोज नयाँ गाडी लिएर चाडबाड मनाउन घर आएका थिए । सरोज र सुनिलको त्यस अवधिमा भेट भयो । सरोजले सस्तोमा सुन किन्ने र काठमाडौँ लगेर बेच्ने भन्दै सुनिललाई सुन खोज्न लगाए । सुनिलले सरोजको कुरा स्वीकारेर अपराधको योजना बनाए ।

सुनिलले सरोजलाई आफूले सुन ल्याएको र हेर्न आउन भन्दै ललाइफकाइ अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा बोलाएका थिए । सुनिलले भान्जा राहुललाई त्यहाँ बोलाइसकेका रहेछन् । सुनिलले भान्जा राहुलसँग मिलेर सरोजलाई अपहरण गरी घरबाट मोटो रकम फिरौती माग्ने योजना बनाएका थिए । तर, उनीहरूको त्यो योजना सफल भएन । उनीहरूले हथौडाले हिर्काएर साँझ साढे ५ बजे सरोजको हत्या गरेको अनुसन्धानको क्रममा खुलेको डीएसपी खड्काले बताए ।

त्यही राति सुनिल र राहुलले एक जना भारतीय युवकको सहयोगमा सरोज चढ्ने किया सेल्टस कम्पनीको बा प्र ०१ – ०३०– च ७१९४ नम्बरको कारको डिक्कीमा उनको शव राखेर झापा गाउँपालिका ५ सीमा पर्ने बिरिङ नदीको पुलमुनि लगेर गाडेका थिए । उनको कार जंगलमा लुकाएर राखेका थिए । सुनिललाई प्रहरीले घटना भएको भोलिपल्टै पक्राउ गरेको थियो ।

प्रमाण नभेटेपछि उनलाई छाडिदिएको बताउँदै डीएसपी खड्काले भने, ‘प्रहरीले समातेकै डरले सुनिलले सरोजको कार जलाएर प्रमाण नष्ट गर्न खोजेका थिए ।’ सुनिलले सरोजको कार कात्तिक १३ गते बिहीबार बिहान १० बजेको समयमा चारआली–भद्रपुर सडकको करिब २०० मिटर पश्चिम चारआली जंगलको हातेमालो सामुदायिक वनभित्र ल्याएर जलाएर फरार भएका थिए । तर, घटनास्थलमा सुनिलले लगाएको एउटा चप्पल प्रहरीले फेला पार्‍यो । सोही चप्पलको आधारमा सुनिल र उनको भान्जालाई पक्राउ गरेपछि सरोजको हत्याकाण्ड बाहिर आएको डीएसपी खडकाले बताए ।

सुनिललाई बिराटनगरस्थित सीमावर्ती क्षेत्र रानीबाट नियन्त्रणमा लिइएका थियो भने राहुललाई खोजतलासकै क्रममा शिबसताक्षी नगरपालिका वडा नं. १० स्थित उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
मृतक सरोजको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरी आज कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्