झापा,कात्तिक १९ । नेपाली कांग्रेसका झन्डै ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखले मात्र सदस्यता नवीकरण गरेका छन् ।

केन्द्रीय कार्यालयलाई ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ जनाले सदस्यता नवीकरण गरेको विवरण प्राप्त भएको छ ।
जसमध्ये केन्द्रीय कार्यालयलाई इमेलमार्फत प्राप्त विवरणअनुसार १९ जिल्लाका एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ को सदस्यता नवीकरण भएको छ । इमेलमार्फत विवरण पठाएका जिल्लामा ४५ हजारले नवीकरणमा रुचि देखाएका छैनन् ।
महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘१९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये एक लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएकेको छ ।’
२७ जिल्लामा (केही वडाबाहेक) तहगत नवीकरण भएर एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अर्थात् ४६ जिल्लाबाट ३ लाख ९ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ,’ महामन्त्री थापाले प्रतिवेदनमा लेखेका छन्, ‘सिस्टममा इन्ट्री गर्न बाँकी छ ।’
१६ वटा जिल्लामा (केही वडाबाहेक) वडाबाट क्रियाशील सदस्यता नवीकरण भएर तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा रहेको महामन्त्री थापाको भनाइ छ ।
महामन्त्री थापाले पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुरमा आन्दोलन र आगजनीका कारण सदस्यता नवीकरणको काममा ढिलाइ भएको प्रतिवेदनमा उल्लेख गरेका छन् । उनका अनुसार अहिले ती जिल्लाहरूमा वडाबाट विवरण संकलन भइरहेको छ ।




