झापा, कात्तिक २० । जेनजी आन्दोलनका क्रममा झापाबाट ९२ जना थुनुवा फरार भएका थिए । त्यसमध्ये ४ जना मात्र पक्राउ परेका छन् ।

तीनजना आफै फर्किएर आएका हुन् भने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका एकजना थुनुवा बुधवार बिहान पक्राउ परेका हुन् ।
बिर्तामोड वडा नं.३ बाट सोही ठाउँ बस्ने वर्ष २६का बिरबहादुर राजवंशी पक्राउ परेका हुन् । जेनजी आन्दोलनको क्रममा इप्रका बिर्तामोडको हिरासतबाट लागूऔषध मुद्धाका आरोपी राजवंशी फरार भएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको टोलीले उनलाई घरबाटै पक्राउ गरी इप्रका बिर्तामोडमा राखेको छ ।
यसअघि गत असोज २ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा आफै फर्किएर आएका थिए । लागूऔषध मुद्धामा पक्राउ परेका इलाम नगरपालिका वडा न.९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ बस्ने २१ वर्षीय सुजन अधिकारी जिल्ला प्रहरी कार्यालय झापामा आफै सम्पर्कमा आएपछि पक्राउ गरिएको थियो ।
त्यस्तै लागूऔषधका कारोबारी बिर्तामोड ५ का भानुभक्त खरेलका कामदार अर्जुनधारा–६ दासपुल बस्ने २५ वर्षीय विनोद घिमिरे पनि आफै प्रहरीको सम्पर्कमा आएका थिए । पछि उनी धरौटीमा छुटेका छन् भने लागूऔषधका कारोबारी खरेल पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् । जेनजीको आन्दोलनका नाममा आन्दोलनकारीहरुले झापाका विभिन्न प्रहरी कार्यालयहरुबाट ९२ जना थुनुवा भगाएका थिए ।
भदौ २४ गते भएको आन्दोलनमा आन्दोलनकारीहरुले गम्भीर , जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसन्धानमा रहेका ९२ जना थुनुवा भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरि ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जेनजी आन्दोलनको मौका पारेर झापाको प्रहरी हिरासतमा रहेका लागूऔषधका नामुद कारोबारीहरु भागेका छन् ।
झापामा डिलर राखेर ठूलो मात्रामा औषधिजन्य लागूऔषधको कारोबार चलाइरहेका नेकपा एमालेनिकट भानुभक्त खरेलका साझेदारहरु प्रहरी हिरासतबाट उम्किएका हुन् । भाग्ने ९२ जना थुनुवामध्ये मुख्य कारोबारी खरेलका साझेदारहरु राजेन्द्र पन्धाक, विष्णु बगाले थापा र गंगाबहादुर खड्का पनि रहेका छन् । पन्धाक इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका हुन् भने बगाले र खड्का इलाका प्रहरी कार्यालय दमकको प्रहरी हिरासतबाट भाग्न सफल बनेका छन् ।
उनीहरुलाई अझैसम्म प्रहरीले पक्राउ गरी ल्याउन सकेको छैन ।
प्रहरी हिरासतबाट भाग्ने अधिकांश थुनुवाहरु लागूऔषधका कारोवारी र प्रयोगकर्ताहरु रहेका छन् । त्यसबाहेक जवरजस्ती करणी , ज्यान मार्ने उद्योग , अभद्र व्यवहारलगायतका आरोपी रहेका छन् ।
विभिन्न अपराधका अपराधीहरु नियन्त्रण बाहिर रहँदा समाज त्रसित बनेको छ । लागूऔषधका ती नामुद कारोबारीहरु पुनः पक्राउ पर्न नसके लागूऔषधको धन्धाले अझ विकराल रुप लिने देखिएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका थुनुवाहरु
प्रहरीले विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुको नामावली सार्वजनिक गरिसकेको छ । तर झापा प्रहरीले प्रहरी कार्यालयहरुबाट भागेका थुनुवाहरुको नामावली सार्वजनिक गरेको छैन । प्रहरी स्रोतबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका थुनुवाहरुको नामावली प्राप्त भएको छ ।
दमक नगरपालिका वडा नं १ का विजय कर्माकार–लागूऔषध, कमल गाउँपालिका वडा नं १ का सन्तोष मिस्तेरी– लागूऔषध , बिर्तामोड वडा नं ३ का विरबहादुर राजवंशी–लागूऔषध, बिर्तामोड वडा नं १ का विशाल गौतम–लागूऔषध , इलाम नगरपालिका वडा नं ९ का गंगाराम चौहान– लागूऔषध , सोही ठाउँका सुजन अधिकारी–लागूऔषध , बिर्तामोड वडा नं ३ का मोहम्मद ममज मियाँ–लागूऔषध , कनकाई वडा नं ४ का मुस्ताक अन्सारी–लागूऔषध ,सोही ठाउँका सुनिल यादव–लागूऔषध , अर्जुनधारा वडा नं ६ का विनोद घिमिरे –लागूऔषध,सिन्धुली भिमान गाउँपालिका वडा नं १० का विनोद विक–लागूऔषध , झापा गाउँपालिका ३ की प्रेमकला महतो–लागूऔषध , बिर्तामोड वडा नं ६ का अनुमेश गिरी–लागूऔषध , अर्जुनधारा ३ का जीवन चम्लागाँई –लागूऔषध , बिर्तामोड ५ का राजेन्द्र पन्धाक–लागूऔषध ,अर्जुनधारा ८ हाल बिर्तामोड वडा नं ४ का नितेश शिवा दमाई –चोरी, कनकाई वडा नं ७ का चन्द्रबहादुर धमला–चोरी , हल्दिवारी वडा नं ४ का सरोज पौडेल–लागूऔषध , बिर्तामोड ८ का पंकजराज मैनाली–लागूऔषध, सोही ठाउँका शंकर चिमरिया–लागूऔषध , भद्रपुर १० का प्रदिप राई–लागूऔषध , हुम्ला नामखा गाउँपालिका १ का राजु लामा–लागूऔषध , बिर्तामोड ७ का कृष्ण पौडेल– चोरी, अर्जुनधारा ८ का घनश्याम साह–लागूऔषध, भद्रपुर ८ का गणेश मिस्त्री–अभद्र व्यवहार , दमक ४ का रामकुमार धिमाल–अभद्र व्यवहार , धनकुटा पोलिखर्क ५ का होमबहादुर विक–अभद्र व्यवहार , सुनसरी दुहवी १२ का शैलेन्द्र मेहता–अभद्र व्यवहार ,सानाहरि नगरपालिका ९ का रोहन चौधरी–अभद्र व्यवहार , कनकाई वडा नं ३ का योगेन्द्र मैनाली–ज्यान मार्ने उद्योग , बाह्रदशी ५का डिकेन्द्र थापा–अभद्र व्यवहार , बिर्तामोड ५ का सुरज गुरुङ –लागूऔषध , कन्काई ३ का रमेश मुखिया सुनुवार–लागूऔषध रहेका छन् ।
भागेका थुनुवाहरुको अवस्थाबारे प्रहरी प्रशासन अहिलेसम्म अनभिज्ञ छ ।पुरुष थुनुवाहरु भागेपनि महिला थुनुवाहरु भाग्न नसकेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयहरु पुनर्स्थापना भएसंगै फरार थुनुवाहरुको खोजी गर्ने बताएको प्रहरीले अझै थुनुवाहरुको खोजी थालेको छैन ।



