“स्वस्थ जीवन“ (होमियोप्याथिक चिकित्सा) डा. लेखनाथ न्यौपानेद्वारा लेखिएको पुस्तक हो । सरल र सहज उपचार खोजिरहनुभएका आरोग्यता चाहनुहुने र जिज्ञासुलाई समर्पण गरिएको यो पुस्तक २०८२ साल असोज ३१ गते शुक्रबार दमकमा विमोचन गरिएको थियो । साहित्य कला सङ्गम दमकले आयोजना गरेको विशाल कार्यक्रममा सहभागी भएपछि प्राप्त भएको पुस्तक र यसमा भएको अथाह ज्ञानमाथि छोटो चर्चा नगरी मन मानेन त्यसैले सारंशको रूपमा यहाँ उतार्ने सानो धृष्टता गरेकोछु ।

इलाम जिल्लाको तत्कालीन लुम्दे गा. बि. स. हाल फाकफोकथुम गाउँपालिकामा २०२७ सालमा अवतरित हुनुभएका डा. लेखनाथ न्यौपानेले आफ्नो अध्ययनको क्रम पार गरिसकेपछि व्यवसायिक रूपमा रीता होमियो क्लिनिक, दमकमा सञ्चालन गरी सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँ सेवा प्रदायक एक कुशल डाक्टर हुनुको साथै समाजसेवी र एक सफल साहित्यकार पनि हो । हालसम्ममा सरल होमियोप्याथिक चिकित्सा प्रणाली भाग एक, “छोरा” उपन्यास, “हराएका अनुहार” कथा सङ्ग्रह , “स्वस्थ कसरी रहने” र “मेरो देश” जस्ता अनुसन्धनात्मक अन्य पुस्तकहरू लेखेर उहाँले नेपाली साहित्यिक जगतलाई थप उज्यालो बनाउन सक्षम हुनुभएको छ ।

यस पुस्तकभित्र ३६ वटा शीर्षक राखेर विशेष गरी होमियोप्याथिक उपचार पद्धति के हो ? यो पद्धतिलाई सरल र सहज ढङ्गले कसरी लिन सकिन्छ ? मानव जीवन स्वस्थ हुन अपनाउनुपर्ने विधिहरू के के हुन् ? कुन औषधि के को लागि र कसरी प्रयोग गर्ने ? जस्ता तथ्य केलाएर अत्यन्तै उपयोगी र ज्ञानवर्द्धक विषयहरू समावेश गरिएको छ ।

दैनिक खानपिन, रहनसहन, आहारबिहार र विविध कर्मले मानव जीवनमा हुने गरेका सन्तुलन र असन्तुलन सधैँभरि एकनास नहुन सक्छ । त्यसै पनि जीवन क्रमशः बुढो हुँदै गएर अन्त्य हुने सत्यता त छदैछ तथापि जीवनभर स्वस्थ्य भएर सुख शान्तिका साथ जिउनको लागि महत्वपूर्ण शिक्षा यस पुस्तकबाट मनग्ये प्राप्त गर्न सकिन्छ । यहाँ डाक्टर न्यौपानेले तिनै खानपान,चालचलन र व्यबहारिक प्रयोगलाई सन्तुलित बनाउनको लागि अनेकन औषधीय उपभोगका नियम र दैनिकीमा जीवन शैलीको तरिका सुझाउनु भएको छ । यसमा ग्यास्ट्रिक, कब्जियत, एलर्जी, मधुमेह, प्रेसर, क्यान्सर, पायल्स, बाथ, अनिद्रा, प्रोस्टेट, थाइराइड, छाला रोग, आँखा दाँत कान सम्बन्धी रोग, महिला र बालबालिका सम्बन्धी रोग, मानसिक र मनोचिकित्सा सम्बन्धी रोग, र अन्य विभिन्न शारीरिक बाह्य तथा आन्तरिक आङ्गिक रोगहरूलाई लाग्न नदिन र लागीगएमा पूर्ण रूपमा निदान गर्न होमियोप्याथिक चिकित्सा पनि पूर्णतया सक्षम भएको कुरा यथेष्ट उल्लेख गरिएको छ । यो पुस्तक पढिसकेपछि हरेक पाठकलाई आफ्नो जीवनशैली कसरी सन्तुलनमा राख्ने र स्वस्थ रहने ज्ञान स्वत प्राप्त हुनेछ भन्ने महशुस गरेको छु ।

आजको मानव जीवन रासायनिक प्रयोग, वातावरणीय प्रदूषण र लागूपदार्थ सेवनको कारण अधिकांशले रोगको सिकार बन्नुपरेको छ । यी सबै कुराबाट छुटकारा पाउन अथवा लागिसकेको रोगबाट मुक्ति पाउनको लागि डा. लेखनाथले तयार गर्नुभएको यो पुस्तक “स्वस्थ जीवन” हेरिसकेका व्यक्तिले प्राप्त गरेको ज्ञान अचुक उपाय हुने कुरामा म विश्वस्त रहेको छु । यसरी आफ्नो अमूल्य समय र अर्थ खर्चिएर यति बहुमूल्य सम्पत्ति, अनमोल ज्ञानको भण्डार मानव समुदाय सामु दिनुभएकोमा र मलाई पनि अध्ययन गरी ज्ञान प्राप्त गर्ने सुअवसर मिलाईदिनु भएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । उहाँको हरेक गतिविधि यसरी नै विश्व कल्याणकारी र मानवतावादी बन्न सकुन् भन्ने हार्दिक शुभेच्छासहित बिदा लिन्छु हवस् त धन्यवाद !

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्