झापा,कात्तिक २२ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य अफताब आलमको निधनमा तीन दिनसम्म झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आकस्मिक बैठकले आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । त्यस्तै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने निर्णय समेत बैठकले गरेको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं रौतहट जिल्लाका पूर्व सभापति मोहम्मद आफ्ताव आलमको ६३ वर्षको उमेरमा निधन भएको हो । गए राति काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो।



