झापा, कात्तिक २२। बिर्तामोडका १३ वटा महिला सहकारीमध्ये जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था वासलातको हिसावले नगरकै उत्कृष्ट देखिएको छ ।

बिर्तामोड ५ स्थित जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्थाले आज आयोजित १२ औ वार्षिक साधारण सभामा ११ करोड ३७ लाख ६ हजार ७५ रुपैयाँको वासलात प्रस्तुत गरेको हो । संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले यस वर्ष ७ लाख ८१ हजार ४११ रुपैयाँ खुद नाफा आर्जन गरेको बताइन् । उनले त्यसकै आधारमा सदस्यहरुलाई लाभांश वितरण गरिने जानकारी दिइन् । हाल शेयर पुँजी २ करोड १ लाख १३ हजार ४९० रुपैयाँ रहेको संस्थाको बचत रकम ७ करोड ३१ लाख ९३ हजार २०९ र कर्जा १० करोड ३५ लाख ५८ हजार ५७३ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । बिर्तामोड र अर्जुनधारा कार्यक्षेत्र रहेको संस्थामा १ हजार ९०७ जना सदस्य रहेका छन् ।

साधारण सभाको उद्घाटन गर्दै सहकारी प्रशिक्षक डिल्ली दाहालले कोरोना कहर र आर्थिक मन्दीको मार परिरहेको विषम परिस्थितिमा समेत जनश्रुति महिला साकोसले नाफा कमाएर सदस्यहरुलाई लाभांश वितरण गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले महिलाहरुले चलाएको सहकारीहरु कही पनि नबिग्रिएको बताउँदै महिला सहकारी चलाउने संचालकहरुमा इमान्दारिता देखिएको धारणा राखे । कार्यक्रममा लेखा सुपरीवेक्षण समितिकी संयोजक सावित्रा राजवंशीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।


कार्यक्रममा ज्येष्ठ नागरिक सदस्य सम्मान, उत्कृष्ट बचतकर्ता सम्मान , असल कारोवारकर्ता सम्मान प्रदान गरिनुका साथै सामुदायिक विद्यालयका तर्फबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको थियो ।

ज्येष्ठ नागरिक सदस्य सम्मानबाट कौशल्या चौधरी र हेमवती राजवंशी ,उत्कृष्ट बचतकर्ता सम्मानबाट ओमादेवी ढकाल, सुरज राजवशी र तुलसा मिश्र , असल कारोवारकर्ता सम्मानबाट विमला चौधरी र ज्योति पराजुली तथा सामुदायिक विद्यालयतर्फबाट एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका छोराछोरीमध्ये लिलाकुमारी अधिकारी शिवाकोटीकी छोरी ऋतिका शिवाकोटी र प्रवाशी राजवशीका छोरा नेल्सनसिंह राजवंशीलाई पुरस्कार प्रदान गरिएको थियो । संस्थाकी सदस्य अनिता कार्की बस्नेतले शव्दद्वारा स्वागत गरेको कार्यक्रमको संचालन सचिव ममता राजवंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्