झापा, कात्तिक २४ । आज बिहान बर्दिवासको एक होटलमा मुख्यमन्त्री नियुक्त गरिएपछि मधेश प्रदेशमा एमाले, राप्रपा र संघीय समाजवादीबाहेक अन्य सात दल छलफलमा जुटेका छन् ।


बिरामी भएको भन्दै उपचारका लागि काठमाडौं जाने भनेर हिँडेकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले बर्दिवासमा पुगेर एक होटलमा एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ समेत खुवाएकी छिन् । त्यसपछि मधेश प्रदेशका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपा, जनमत र जसपालगायतका सात दलले अब के गर्ने भन्ने विषयमा छलफल थालेका छन् ।

मधेश भवनको मुख्यमन्त्री निवासमा बसेको बैठकमा चार विकल्पमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार सभामुखमाथि महाअभियोग लगाउने, प्रदेश प्रमुखलाई फिर्ता पठाउने, कानुनी बाटोका लागि अदालत जाने र आन्दोलन घोषणा गर्ने विषयमा छलफल भइरहेको छ ।

यस्तै प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको शपथ खाएलगत्तै मुख्यमन्त्री यादवले तीन सदस्यीय मन्त्रीमण्डलसमेत गठन गरेका छन् । बर्दिवासकै उक्त होटलमा एमाले, राप्रपा र संघीय समाजवादीका एक÷एक जना सांसदलाई विना विभागीय मन्त्रीसमेत बनाएर शपथ पनि खुवाइएको छ ।

विना विभागीय मन्त्रीको शपथ खानेमा एमाले सांसद लखन दास तत्मा, नेपाल संघीय समाजवादी पार्टीकी सांसद बिमला अंसारी र राप्रपाकी सांसद कंचन बिच्छा रहेका छन् ।

यस्तै नवनियुक्त मुख्यमन्त्री मुख्यमन्त्री कार्यालयमा आइसकेका छैनन् । आक्रोशित सात दल र तीनका नेता कार्यकर्ताले मुख्यमन्त्रीलाई कार्यालयमा प्रवेश नदिने बताएका छन् । मुख्यमन्त्री कार्यालय अगाडि गाडीहरु तेर्स्याएर राखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्