झापा,कात्तिक २४ । कात्तिक १९ गते १० वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापनका लागि कार्यदल बनाउने भएको छ ।

काठमाडौँमा भएको एकता घोषणा सभाले संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाललाई निर्वाचित गरेको थियो । निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै रहेकाले केही दिनमै कार्यदल बनाएर समायोजन प्रक्रिया अगाडि बढाउने नेता हरिबोल गजुरेलले जानकारी दिए । शनिबार पेरिसडाँडामा बसेको पार्टी एकता कार्यदलसहित शीर्ष नेताहरूको बैठकले उच्च तहकै नेतृत्वमा कार्यदल बनाएर जाने समझदारी भएको गजुरेलले बताए । उनका अनुसार नेता झलनाथ खनालको नेतृत्वमा कार्यदल बन्न सक्ने सम्भावना रहेको छ ।
‘केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा गृहकार्य चलिरहेको छ । एउटा उच्चस्तरीय समायोजन कार्यदल बनाउने तयारी भइरहेको छ । सबै पार्टीबाट समेटेर १०÷१५ जनाको कार्यदल बनाउने भन्ने छ । तर निष्कर्षमा पुगेको छैन’, उनले भने ।
दैनिक कार्य सम्पादनका लागि ३५ जना आसपासको सचिवालय बनाउने तयारी भएको उनले जानकारी दिए । पूर्व नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका पदाधिकारी रहनेछन् । एकता प्रक्रियामा आएका अन्य दलका पदाधिकारीलाई के गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको गजुरेलले बताए । एकता अगाडि प्रदेश, जिल्ला, पालिका र वडा तहसम्मै एक दलको संयोजक भएमा अर्को दलले सहसंयोजक रहने समझदारी भएको नेताहरूले बताएका थिए । एकतापछि कति जनाको केन्द्रीय समिति बनाउने भन्नेमा पनि कुनै निष्कर्षमा नपुगेको उनले बताए । स्रोतका अनुसार पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा उच्चस्तरीय कार्यदल बनाउने सम्भावना रहेको छ ।
यता वार्ता टोली सदस्य समेत रहेका नेता प्रकाश ज्वालाले हिजोसम्म दल दर्ता प्रक्रियामै रहेकाले समायोजन प्रक्रियामा प्रवेश नै नगरेको जिकिर गरे । अहिलेसम्म वार्ता टोलीबाट नै सबै प्रक्रिया अगाडि बढाइरहेको उनले बताए । तल्लो तहसम्म एकता र समायोजनका लागि एक उच्चस्तरीय कार्यदल बनाउने विषयमा छलफल भइरहेपनि निष्कर्षमा नपुगेको ज्वालाले बताए ।
उनले भने, ‘हिजोसम्म निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामै अल्झिएकाले व्यवस्थापनको विषयमा छलफल हुन सकेको छैन । केन्द्रदेखि स्थानीय तहसम्म समायोजन र व्यवस्थापन कसरी गर्ने भन्नेमा भोलिसम्म केही टुंगो लाग्ला ।’
केन्द्रीय समितिको संख्या करिब दुई हजार नजिक रहने नेताहरूले बताएका छन् । त्यही अनुसारको पोलिटब्युरो, स्थायी समिति बनाउने सम्बन्धमा छलफल भइरहेको उनीहरूको भनाइ छ । केन्द्रमा ३५ सदस्यीय कोर टिम, एक सय हाराहारीको स्थायी समिति वा कुनै समिति बन्न सक्ने ज्वालाले बताए ।
यस्तै एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल कात्तिक २७ गतेसम्म एकता प्रक्रियामा आउने नेताहरूले बताएका छन् । मातृभूमि जागरण अभियानका संयोजक समेत रहेका रावललाई आफ्ना सहयोगीसँग छलफल गर्न दुई÷तीन दिनको समय दिएकाले आन्तरिक छलफलमा रहेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पनि एकतामा आउन सकारात्मक रहेको ज्वालाले बताए ।
‘पार्टी एकतामा आउनका लागि जसपा पनि सकारात्मक देखिएको छ । केन्द्रीय समिति बैठकबाट निर्णय गर्छौँ भनेका छन् । सायद केही दिनमै निर्णय आउला’, उनले भने ।



