झापा,कात्तिक २४ । रोयल ओमान प्रहरीले नागरिक अवस्थासम्बन्धी कानुनका कार्यान्वयन नियमावलीका केही प्रावधान संशोधन गर्ने निर्णय गरेको छ ।

उक्त निर्णयअनुसार अब ओमानमा बस्ने नेपालीसहित आप्रवासी श्रमिकको व्यक्तिगत पहिचान कार्ड र आवासीय कार्ड दुवैको अधिकतम अवधि १० वर्ष हुनेछ ।
प्रहरीले जारी गरेको निर्णय अनुसार व्यक्तिगत पहिचान कार्ड १० वर्षका लागि वैध हुनेछ भने आवासीय कार्ड पनि अधिकतम १० वर्षसम्मका लागि जारी गर्न सकिनेछ । यसको श्रेणी र नियन्त्रणसम्बन्धी विवरण प्रहरी महानिर्देशकले निर्धारण गर्नेछ ।
नयाँ निर्णयमा कार्ड र प्रमाणपत्र जारी, नवीकरण र प्रतिस्थापनका लागि लाग्ने शुल्क पनि निर्धारण गरिएको छ ।
रोयल ओमान प्रहरीका अनुसार कार्डधारकहरूले आफ्नो कार्डको म्याद समाप्त भएको ३० दिनभित्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्नेछ । समयमै नवीकरण नगर्ने व्यक्तिलाई सम्बन्धित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
नयाँ प्रावधानले प्रशासनिक प्रक्रिया सहज बनाउने र नागरिक पहिचान प्रणालीलाई आधुनिक र दीर्घकालीन बनाउने उद्देश्य राखिएको बताइएको छ ।



