झापा, कात्तिक २४ , भद्रपुरमा रहेको प्रादेशिक अस्पतालमा चोरको विगविगी देखिएको छ ।

अस्पतालमा काम गर्ने कर्मचारीको मिलेमतोमा लाखौंको सामान चोरी भएको हो । वर्षौदेखि अस्पतालबाट विभिन्न सामान हराउँदै गएपछि प्रहरी अनुसन्धानका क्रममा अस्पतालकै कर्मचारीको मिलेमतोमा चोरी भइरहेको खुलेको हो ।
विभिन्न सामानहरु हराउँदै गएपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा अस्पतालमा काम गर्ने स्वीपर भद्रपुर नगरपालिका वडा नं.१० बस्ने ३० वर्षीय सुरज जमदारको मिलेमतोमा चोरी गर्ने भद्रपुर नगरपालिका वडा नं.६ बस्ने ३७ वर्षीय रन्जित घोष र मेचीनगर नगरपालिका वडा नं.७ बस्ने २८ वर्षीय विश्वनाथ राजवंशीसमेत पक्राउ परेका छन् ।
कात्तिक ३ गते अन्दाजी दिउँसो २ बजे प्रादेशिक अस्पताल भद्रपुरको पुरानो भवनको सर्जिकल वार्डको बाहिरी भागबाट किचन गाईनो वार्डको ओ.पि.टी हुँदै ओ.टी.बाहिरसम्म अक्सिजन सप्लाई गर्न जडान गरेको तामाको पाईप घोषले चोरी गरेका थिए । त्यस घटनाको अनुसन्धानको क्रममा घोष आज पक्राउ परेका हुन् ।
त्यस्तै कात्तिक १८ गते अन्दाजी दिउँसो १ः३० बजे प्रादेशिक अस्पतालको गाइनो वार्डको पहिलो तलाबाट अक्सिजनको पाइप स्वीपर जमदारले चोरी गरिरहेको अवस्थामा त्यस कार्यालयको सीसीटिभी फुटेजमा देखिएको थियो । सोही प्रमाणको आधारमा जमदारलाई हिजो पक्राउ गरिएको हो ।
त्यस्तै कात्तिक २२ गते राति अन्दाजी ११ बजे प्रादेशिक अस्पतालको औषधी स्टोर रुमभित्रबाट राजवंशीले मेथाडोल नामक झोल औषधी चोरी गरेका थिए । सीसीटिभी फुटेजको प्रमाणको आधारमा राजवंशीलाई हिजो पक्राउ गरिएको हो ।
मुलुकी अपराध संहिता २०७४ अन्तर्गत चोरी कसुरमा उनीहरुलाई जिल्ला अदालतबाट आज पहिलो पटकलाई ५ दिन म्याद लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । खड्काले उनीहरुबाट ३ केजी तामाको पाइप वरामद भएको जानकारी दिएका छन् ।



