बिर्तामोड, कात्तिक २५ । बिर्तामोडको महेन्द्र–रत्न माध्यमिक विद्यालयको अटिजम स्रोत केन्द्र अन्तर्गत सिकाइ सहजीकरण गर्न अष्ट्रेलियन स्वयंसेवकको रुपमा रहेर काम गरिरहेकी अष्ट्रेलियन प्रशिक्षक नाटेली मोशाकिसको बिदाई गरिएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचरण सिवाकोटीको प्रमुख आतिथ्यमा भएको एक विशेष कार्यक्रममा उच्च सम्मान साथ उनलाई विदाई गरिएको हो ।

अटिजमको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका भीम बोहोरा, विद्यालय व्यवस्थापन समितिका सदस्य मनिका माझीलगायतले विदाई सन्देश दिएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक इन्दिरादेवी वस्तीले गरेकी थिइन्। स्वयंसेवक प्रशिक्षक नाटेलीले आफूले विद्यालयमा प्रशिक्षण गर्दाका अनुभव र स्रोतहरू संलग्न राखी दुईवटा स्रोत विधि पुस्तिका तयार गरी विद्यालयलाई प्रदान गरेकी थिइन्। कार्यक्रममा अस्ट्रेलियन प्रशिक्षक नाटेलीले नेपालको ग्रामीण क्षेत्रहरूमा अटिजम भएका बालबालिकाका लागि आफूले केही गर्न पाएकोमा गर्व महसुस भएको, आफूले नेपालमा रहँदा बालबालिका, शिक्षक तथा अभिभावकहरूसँग प्रशस्त अन्तरक्रिया तथा अनुसन्धान गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गरिन्।


शिक्षक गीता भट्टराईले मिठो विदाई गीत प्रस्तुत गरेको उक्त कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले अटिजम स्रोत कक्षा सञ्चालन गर्दाका अप्ठ्याराहरू, त्यसका प्राविधिक पक्ष, नाटेलीको योगदान बारेमा चर्चा गरे। विद्यालयको तर्फबाट पुष्पगुच्छा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको उक्त कार्यक्रममा अस्ट्रेलियन राजदूतावास तथा सहयोगी संघ संस्था र व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।

उक्त कार्यक्रमको सञ्चालक समेत रहेका विद्यालयका सहायक प्रधानाध्यापक तुलसीराम खरेलले अटिजम स्रोत कक्षामा संलग्न सहजकर्ता तथा अभिभावकले नाटेलीमार्फत धेरै विधि, ज्ञान र सामग्रीहरू प्राप्त गरेकोले अब बालबालिकाका लागि विविध ढंगले काम गर्न सकिने बताए। सामुदायिक विद्यालयमा अटिजम स्रोत कक्षा सञ्चालन गर्ने महेन्द्ररत्न माध्यमिक विद्यालय त्यस क्षेत्रको एकमात्र विद्यालयको रुपमा रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्