झापा, कात्तिक २५ । नेकपा एमालेको केन्द्रीय कार्यक्रमअन्तर्गत झापाका अधिकांश पालिकाहरुमा मंगलवार एमालेले मोटरसाइकल र्‍याली निकालेको छ ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेले विरोध कार्यक्रम गर्दै आएको हो । झापाको मेचीनगर, भद्रपुर, कनकाई, शिवसताक्षी, गौरादह नगरपालिका र झापा, गौरीगञ्ज, कमल गाउँपालिकाले मोटरसाइकल र्‍याली गरेको एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिए । हल्दिवारीमा नेकपा एमालेले कृषिमा भएको क्षतिको राहत माग्दै कोणसभा गरेको छ भने बुद्धशान्ति गाउँपालिकाले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको सचिव कार्कीले जानकारी दिए ।

यसअघि बिर्तामोड, दमक, अर्जुनधारा, कचनकवल गाउँपालिकाले मोटरसाइकल र्‍याली गरेका थिए । बाह्रदशी गाउँपालिकाले आगामी मंसिर १ गते क्षेत्र स्तरीय जनवादी सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ । जिल्लाका सबै पालिकाहरुमा शक्ति प्रदर्शन गरेको एमालेले कात्तिक २९ गते जिल्लास्तरीय जनजागरणसभा बिर्तामोडमा आयोजना गर्दैछ ।

जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड लगायत आपराधिक काममा सक्रिय व्यक्तिहरुलाई यथासक्य कानुनी कारबाहीको माग गरिएको छ । नागरिकको सुरक्षामा जोखिम भएको जनाउँदै एमालेले सरकारसँग सुरक्षा प्रवन्ध मिलाउन प्रदर्शनका क्रममा अपिल समेत गरेको छ ।

कार्यक्रममा स्थानीय नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरुले जिल्लामा एमालेले आम नागरिकलाई उत्साहित बनाएको बताएका छन् । एमाले नेता कार्यकर्ताहरुमा समेत जिल्लामा भएका कार्यक्रमले थप सक्रिय हुन प्रोत्साहन मिलेको प्रतिक्रिया दिएका छन् ।

एमाले झापाले कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन गर्ने भएको छ । संसद् पुनःस्थापना, संविधानको रक्षा र असंवैधानिक सरकार खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा संलग्न आपराधिक र अराजक गतिविधिमा संलग्नहरुलाई कारबाहीका लागि दवाव दिन समेत जिल्लास्तरीय जनजागरणसभा आयोजना गरिएको उनको भनाई छ । बिर्तामोडमा आयोजना गरिने जनजागरण सभाको आवश्यक तयारी भइरहेको गिरीले जानकारी दिए । वडा, टोलदेखि पालिकासम्मबाट सहभागिता जुटाउन संगठन परिचालन गरिएको जनाइएको छ । जागरण सभामा २० हजार एमालेका नेता कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता रहने उनको दावी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्