झापा, कात्तिक २६ । तेस्रो राष्ट्र नगएर नेपालमै विचल्ली अवस्थामा रहेका भुटानी शरणार्थीहरुको बारेमा युरोपेली संघले चासो राखेको छ ।


दमकको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका शरणार्थीहरुको अवस्थाका बारेमा युरोपेली संघको टोलीले स्थलगत अध्ययन गरी जानकारी लिएको हो ।

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जो ,शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) नेपालकी प्रतिनिधि मोनिक सोखान, यूएनएचसीआर नेपालकी सिनियर अधिकृत संगीता खतिवडा , कन्ट्री कोअर्डिनेटर विजय बज्रचार्य , लुथरन वर्ल्ड फेडरेसनका गोपाल अधिकारीलगायतको टोली हिजो भुटानी शरणार्थी शिविरहरुको भ्रमणमा रहेको छ ।

हिजो पथरी शनिश्चरे शिविरको भ्रमण गरेको सो टोली आज बेलडाँगी शिविर पुगेको छ । सो टोलीले हिजो पथरी शनिश्चरेका जनप्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको थियो । नेपालमा बाँकी रहेका शरणार्थीहरुका बारेमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर युरोपेली संघको टोलीले जिज्ञासा राखेको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनकुमार तुम्वापोले बताए । आफूहरुले शरणार्थी समस्याको समाधान स्थानीय तहबाट हल हुन नसक्ने बताउँदै त्यसको निर्णय संघीय सरकारले नै गर्ने भनेर जवाफ दिएको जानकारी दिए ।

हिजै सो टोलीले दमक नगरपालिकाका जनप्रतिनिधिहरुसंग छलफल गरेको छ ।
दमक नगरपालिका कार्यालयमा नगर प्रमुख राम थापा , उपप्रमुख रेगिना भट्टराई प्रसाईंसंग युरोपेली संघको टोलीले छलफल गरेको हो । कार्यक्रममा दमकमा रहेका भुटानी शरणार्थी,उनीहरुबाट उत्पन्न समस्या निराकरणको सम्बन्धमा छलफल हुनुका साथै जेन्जी आन्दोलनपछि परेको प्रभाव र क्षति सम्बन्धमा समेत सामान्य छलफल भएको जनाइएको छ । आजै सो टोलीले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालसंग छलफल गर्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्