झापा,कात्तिक २६ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयको जग्गा–जमिनको विवरण उपलब्ध गराउन सर्कुलर गरेको छ ।

शिक्षामन्त्री महावीर पुनले जग्गा जमिनको विवरण पेस गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रलाई निर्देशन दिएका थिए ।
केन्द्रले ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गर्दै जग्गा जमिनको विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।
‘शिक्षा मन्त्रालयबाट सामुदायिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको जग्गासम्बन्धी विवरण माग भई आएकाले यथाशिघ्र उपलब्ध गराइदिनु हुन अनुरोध छ,’ केन्द्रले गरेको पत्राचारमा भनिएको छ ।
शिक्षा मन्त्रालयले जिल्ला, स्थानीय तह, विद्यालयको नाम, जग्गाको क्षेत्रफल भोगचलनको अवस्था, जग्गासम्बन्धी समस्या भएमा सो को विवरण खुलाएर पठाउन निर्देशन दिएको छ । विद्यालयको जग्गा हिनामिना भएको गुनासो धेरै जिल्लाबाट आएकाले विवरण माग गरिएको मन्त्री पुनको भनाइ छ ।
यसअघि शिक्षा मन्त्रालयले देशभरका निजी विद्यालयले उपलब्ध गराउने छात्रवृत्तिको विवरण उपलब्ध गराउन केन्द्रलाई निर्देशन दिएको थियो ।
निजी विद्यालयले भर्ना भएकामध्ये १० प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । उक्त व्यवस्थाअनुसार छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावकको नामसहितको विवरण माग गरिएको हो ।



