हल्दीवारी , कात्तिक २६ । करिव १ सय ३० वटा काठे पुल रहेको झापाको हल्दीवारी गाउँपालिका काठे पुलको समस्याबाट लगभग मुक्त भएको छ ।

हल्दीबारी गाउँपालिका वडा नं. ३ स्थित रणकाली सामुदायिक वन क्षेत्रमा रहेको भुसुडी खोलामा ठूलो काठे पुल रहेको थियो । त्यस ठाउँमा पक्की पुल निर्माण भएसंगै अब थोरै र साना काठका पुल मात्र बाँकी रहेको गाउँपालिका कार्यालयले जनाएको छ । करिव १२५ वटा काठे पुल विस्थापित गरी पक्की पुल निर्माण गरिसकिएको र अब आधा दर्जन जति मात्र साना काठे पुल भत्काएर पक्की पुल निर्माण गर्न बाँकी रहेको योजना शाखा प्रमुख राजन न्यौपानेले बताए । उनले काठे पुल विस्थापित गर्ने पालिकाको योजना अनुसार भुसुडी खोलामा पक्की पुल निर्माण गरिएको जानकारी दिए ।

सो पुलको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्तरूपमा आज उद्घाटन गरेका छन्।२६.८ मिटर लम्बाई रहेको यो पुल १ करोड ३० लाख लागतमा सम्पन्न भएको हो।भुसुडीमा २ वटा र भुतेनीमा एउटा गरी ३ वटा पुल एकमुष्ठ ४ करोड ६७ लाख ५४ हजार ८ सय ८७ रूपैयाँमा ठेक्का लागेको थियो । जसमा भुतेनीको पुल संचालनमा आइसकेको छ भने भुसुडी ( लक्ष्मी मावि पूर्व ) को पुल निर्माणको अन्तिम चरणमा पुगेको छ।

२०७९ साल मंसिर ७ गते सुरू भएको सो पुल सारा सृष्टी निर्माण सेवा प्रालिले निर्माण गरेको हो।जलथल पर्यटकीय मार्गमा पर्ने यो पुल निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दाहरूलाई आवागमनमा सुविधा पुगेको छ।सीमित स्रोतका बाबजुद पालिकाको आफ्नै बजेटमा पुल बनाएको र स्थानीयबासी तथा सरोकारवालाहरूको सहयोगले कार्य सम्पन्न भएको पालिका अध्यक्ष लिङ्देनले बताए। आयोजनाको लागतबारे प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले जानकारी गराएका थिए ।

उद्घाटन समारोहमा विभिन्न वडाका जनप्रतिनिधिहरु, शाखाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधि, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रम योजना शाखा प्रमुख राजन न्यौपानेले संचालन गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्