झापा, कात्तिक २७ । दिल्ली, इस्लामावाद र ढाकामा बम विस्फोटपछि पूर्वी सीमामा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

यसअघिदेखि नै सतर्क रहेको नेपाल प्रहरी त्यस घटनापछि अझ सजग र सतर्क बनेको जिल्ला प्रहरी कार्यालय कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । केही दिनअघि झापामा नेपाली सेना , सशस्त्र प्रहरी र जनपद प्रहरीको संयुक्त गस्ती संचालन भएको थियो । आवश्यक परेमा फेरि संयुक्त गस्ती परिचालन गरिने प्रहरी उपरीक्षक लिम्बूले बताए ।
सीमा संयुक्त गस्तीलाई थप निरन्तरता दिने र सीमा सुरक्षालाई कडाई गर्न थालिएको उनले जानकारी दिए ।

यसैबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कार्यालयहरुलाई संवेदनशील भएर सूचना संकलन गरी त्यसको विश्लेषण गर्न र आवश्यक प्रहरी कार्यहरु गरी त्यस्ता किसिमका सम्भावित घटनाहरु हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

विगत केही दिनहरुमा छिमेकी मुलुकका विभिन्न स्थानहरुमा भइरहेका बम विष्फोटका घटना नेपालमा पनि हुनसक्ने भएकाले मानिसहरु भेला हुने स्थानहरु एयरपोर्ट, उद्योग कलकारखाना, धार्मिक प्रतिष्ठानहरु, हाटबजार लाग्ने स्थानहरु, विश्वविद्यालयलगायत अन्य स्थानहरुमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रहरी महानिरीक्षकबाट निर्देशन जारी भएको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्