झापा,कात्तिक २७ । निर्वाचन आयोगले मतदाता सूचीमा नाम दर्ताका लागि राष्ट्रिय परिचयपत्र बनाउँदा लिइएको व्यक्तिको तथ्यांक (बायोमेट्रिक्स) प्रयोग गर्ने भएको छ ।

मतदाता सूचीमा नाम लेखाउनेको चाप बढेपछि त्यसलाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि लिइएको ‘बायोमेट्रिक्स’ तथ्यांकलाई प्रयोग गर्ने निर्णय भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सिंहदरबारमा बसेका आयोगका पदाधिकारी र पञ्जीकरण विभागका अधिकारीहरूबीच बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए ।
‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पहिल्यै संकलित जैविक तथ्यांकलाई मतदाता नामावलीका लागि प्रयोग गर्ने निर्णय भएको छ,’ उनले भने । आयोग र विभागले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर यसलाई अगाडि बढाउने प्रेस संयोजक रावलले जानकारी दिए । राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई यसले सहज बनाउने उनले बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता परिचयपत्रका लागि पञ्जीकरण विभागमा रहेको जैविक ‘बायोमेट्रिक्स’ प्रयोग गर्न सकिने निर्णय आयोगले लिइसकेको जानकारी दिए । आयोगले बिहीबारबाटै उक्त प्रक्रिया सुरु गर्ने गरी तयारी थालेको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्रका लागि संकलित व्यक्तिको जैविक विवरण आयोगलाई उपलब्ध गराउने बताएका थिए । महानिर्देशक घिमिरेले मतदाता परिचयपत्रका लागि अनलाइनबाट व्यक्तिगत विवरण (प्रि–इनरोलमेन्ट) भर्दा राष्ट्रिय परिचयपत्र नम्बर राख्नुपर्ने बताए । ‘राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूको जैविक विवरण हामीले आयोगलाई उपलब्ध गराउँछौं,’ उनले भने, ‘नाम दर्ताका बाँकी प्रक्रिया आयोगले पूरा गर्छ ।’ प्राविधिक प्रक्रिया गर्न विभाग र आयोगका इन्जिनियरहरू जुटिरहेको उनले बताए ।
पछिल्लो निर्णयले राष्ट्रिय परिचयपत्र बनाएकाले मतदाता परिचयपत्रका लागि अनलाइन फारम भरेपछि फोटो खिच्न तथा ‘बायोमेट्रिक्स’ दिनलाई निर्वाचन कार्यालय जानुपर्ने बाध्यता हट्नेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्