झापा,कातिक २७ । जिल्ला सदरमुकाम धनकुटामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद् बैठकले धनकुटा बसपार्क छेउमा रहेको रेशम खेती विकास कार्यक्रमको नाममा रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति प्रदान गरेको हो ।
धनकुटा नगरपालिका–७, स्थित रेशम खेती विकास कार्यक्रमको २५ रोपनी ५ आना ३ पैसा जग्गा रहेको थियो । उक्त जग्गामा प्रादेशिक अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
मन्त्रिपरिषद्को स्वीकृतिपछि नगर विकास समिति र रेशम खेती विकास कार्यक्रम स्वामित्वको जग्गा सट्टाभर्नाको विवादसमेत अन्त्य भएको छ । जग्गाको स्वामित्व प्राप्त नहुँदै प्रादेशिक अस्पतालका नाममा उक्त स्थानमा २५ करोड ८० लाख रुपियाँ बराबरको लागतमा पाँचतले सुविधासम्पन्न अस्पताल भवन निर्माणको काम धमाधम भइरहेको छ ।
कोशी प्रदेश सरकारले २०७८ सालमा १५ शय्या क्षमताको धनकुटा अस्पताल स्तरोन्नति गरी एक सय शय्या क्षमताको बनाउने निर्णय गरेको थियो । प्रादेशिक शिक्षण अस्पताल सञ्चालनका लागि गत असोजमा प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको थियो । साथै अब जग्गाको स्वामित्व पनि प्राप्त भएकाले प्रादेशिक शिक्षण अस्पताल सञ्चालनको बाटो खुलेको छ ।
पूर्वमन्त्री राजेन्द्र राईले समेत यस कार्यका लागि निरन्तर लागि परेको र सफल भएको बताए । उनले भने करिब अढाई वर्षको अथक प्रयासपछि रेशम खेती विकास कार्यक्रमको नाममा दर्ता कायम रहेको जग्गा अस्पताल निर्माणका लागि उपयोग गर्न स्वीकृति भयो बाँकी रहेको अस्पताल निर्माणको काम तीव्र गतिमा काम गर्न साथ सहयोग रहनेछ, उनले भने ।
कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार रेशम खेती विकास कार्यक्रम (कृषि केन्द्र) धनकुटाको नाममा रहेको २५ रोपनी जग्गा निर्माणाधीन धनकुटा अस्पताल र नगर विकास कोषको २७ रोपनी जग्गा रेशम खेती विकास कार्यक्रम (कृषि ज्ञान केन्द्र) धनकुटालाई एउटा सरकारी निकायको जग्गा अर्को सरकारी निकायलाई उपयोग गर्न दिने कार्यविधि अनुरूप प्राप्त भएको छ ।



