झापा, कात्तिक २७ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएकामध्ये दुईजना थुनुवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बिर्तामोड ८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँ बस्ने २५ वर्षीय पंकजराज मैनाली रहेका छन् । लागूऔषध कसुरमा अनुसन्धानमा रही भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा उनीहरु इप्रका बिर्तामोडको हिरासतबाट फरार भएका थिए ।
आज बिहान ८ बजे अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले फरार थुनुवाहरुलाई उनीहरुको घरबाट पक्राउ गरी इप्रका बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा बिर्तामोड र दमक प्रहरीको हिरासतबाट ९२ जना थुनुवा फरार भएका थिए । तीमध्ये सात जना मात्र अहिलेसम्म पक्राउ परेका छन् । ८५ जना थुनुवा विगत दुई महिनादेखि फरार नै रहेका छन् ।



