झापा, कात्तिक २७ । जेनजी आन्दोलनपछि पहिलो पटक विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा आएका छन् ।

२०७९ सालको निर्वाचनमा झापा क्षेत्र नं २ बाट चुनाव जितेका घिमिरे करिव चार महिनापछि आफ्नो क्षेत्रमा आइपुग्दा निवर्तमान सांसद भइसकेका छन् ।यदि निर्धारित समयमै निर्वाचन हुन सकेको खण्डमा करिव ४ महिनापछि यस क्षेत्रका जनताले अर्को सांसद पाउने छन् ।
सभामुख तथा निवर्तमान सांसद घिमिरे यसअघि गत असार ३२ गते बिर्तामोड नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आएका थिए । करिव ५ करोडको लागतमा बनेको सुविधा सम्पन्न भवन उद्घाटन गरेका घिमिरे त्यही भवन क्षतिग्रस्त अबस्थामा हेर्न आइपुगेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बिर्तामोड नगरपालिकाको नवनिर्मित र पुरानो गरी दुईवटा भवनमा तोडफोड र आगजनी भएको थियो । सभामुख घिमिरेले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बिर्तामोड नगरपालिकाको कार्यालय भवनको निरीक्षण गरेका हुन् । त्यस्तै उनले जेनजी आन्दोलनमा क्षतिग्रस्त बिर्तामोडको इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय , एमाले जिल्ला पार्टी कार्यालय, यातायात व्यवस्था कार्यालय , माओवादीको जिल्ला पार्टी कार्यालय र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयको निरीक्षण गरेका थिए ।
उनले हर्कलाल मार्ग , वडा नं ३ स्थित गोकुल मार्ग लगायतका विकास निर्माणको अवलोकन गरेका छन् । तीन दिने कार्यक्रमका लागि उनी गृहजिल्ला आएका हुन् । प्रतिनिधिसभा विघटन भइसकेर सांसद पद गइसकेको अवस्थामा सभामुख घिमिरे झापा आउँदा विगतको जस्तो आकर्षण नदेखिएको कार्यक्रमका एक सहभागीले बताएका छन् ।



