
प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको जता फर्केर हेरे पनि रमाइलो लाग्ने सुन्दर ठाउँ इलाम जिल्लाको माईजोगमाई गाउँपालिका सोयाङमा, बुबा गोपीकृष्ण सुवेदी र आमा निधुप्रिया सुवेदीका कोखबाट २०१३ साल मंसिर १० गते अवतरित हुनुभएका इलामेली वरिष्ठ छन्द कवि एक सफल साहित्यकार इन्द्रनारायण सुवेदी अहिले इलाम नगरपालिका ५ चुरेघाँटीमा स्थायी बसोबास गर्नुहुन्छ । २०६८ सालमा “बाण“ कविता सङ्ग्रह निकालेर सुरु गर्नुभएको प्रकाशन यात्रा, “प्रकृति र मान्छे“ २०७२, “आमाको सम्झनामा“ २०७४ हुँदै “मेरो इलाम“ कविता सङ्ग्रह २०८२ सम्म आइपुग्नुभएको छ । उहाँका कविताहरू अत्यन्तै रसिला चोटिला हुनुका साथै चेतनामूलक र उर्जावान हुन्छन् । प्रायजसो पत्रपत्रिका र सामाजिक सञ्जाल तिर आइरहने उहाँका सिर्जनाले जो कोही पाठकलाई पनि आकर्षण गर्छ र अध्ययनमा मन्त्रमुग्ध बनाउँछ ।
कुनै बेला हामी दुईलाई एउटै विद्यालयमा सँगै शिक्षण कार्य गर्ने अवसर पनि जुराएको थियो समयले , करिब तीनचार वर्षको सहयात्रामा हरेक विषय प्रसङ्गसँग उहाँ र मेरो अत्यन्त घनिष्ठता रहेको मीठो अनुभव गर्छु । म गणित र सामाजिक विषय पढाउथेँ भने उहाँ अङ्ग्रेजी विषय पढाउनु हुन्थ्यो, खाजा बेलामा चना मुरइ र दूध चिया लिदै चाइनिज चेकर खेलेर रमाइलो गरेको सम्झन्छु । मलिन बोली बोल्ने, निकै रमाइलो खालका रेला ठट्टा गरेर हँसाउने, मिजासिलो स्वभाव र अत्यन्त सहयोगी सामाजिक व्यक्तित्व भनेर चिन्छु म उहाँलाई ।
देवकोटा शतवार्षिकी मूल समारोह समिति, इलामेली साहित्य प्रतिष्ठान, बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठान इलाम, सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन अनुसन्धान केन्द्र इ न पा ५ तोरीबारी, साहित्य कला सङ्गीत प्रतिष्ठान इलाम नगरपालिका र प्रगतिशील लेखक सङ्घ इलाम जस्ता धेरै संस्थाहरूमा आबद्ध रहेर नेतृत्व गरिरहनु भएका कविले दुई दर्जन भन्दा बढी सम्पादन कार्यहरू सम्पन्न गरिसक्नुभएको छ । दस भन्दा बढी संस्थामा आजीवन सदस्य रहनुभएको कविले पटकपटक गरेर विभिन्न संस्था निजी तथा सरकारी स्तरबाट दर्जन जति मान सम्मान र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । आफ्नो कार्यमा निरन्तर लागिपर्ने र सफलता हात पारेर मात्रै छोड्ने उहाँको बानीलाई साधुवाद अर्पण गर्दछु ।
यही कात्तिक १९ गते बुद्धिप्रसाद घिमिरे स्मृति सभाको एक भव्य कार्यक्रममा विमोचन गरिएको उहाँको चौथो कृति “मेरो इलाम“ अहिले मेरो हातमा छ । सूर्योदयको कलिलो घाम, कन्यामको चियाबारी, बजारका सुन्दर घरहरू, पोखरी र हिउँ सहितको हिमाल देखिने दृश्यहरू सङ्कलन गरेर बनाएको पुस्तकको आवरण अत्यन्त आकर्षक रहेको छ ।
साहित्य साधकहरूलाई उत्प्रेरित गर्ने प्रतिभा निकुञ्ज नेपालप्रति समर्पण गरिएको छ । यस पुस्तकमा कवि इन्द्रका कविताहरू अवलोकन शीर्षकमा वरिष्ठ साहित्यकार सहप्राध्यापक होम सुवेदीको लेख आएको छ । सौन्दर्यबोध र सुधारका दोसाँधमा इन्द्रनारायणका कविता शीर्षकमा वरिष्ठ साहित्यकार डा. नवराज लम्सालको लेख समेटिएको छ । निरन्तर काव्यसाधनाका लागि शुभकामना प्रा.डा. सागरमणि सुवेदीको लेख र मेरो इलाम प्रकाशनमा आउँदै गर्दा शीर्षकमा कविको आफ्नै मन्तव्य रहेको यो पुस्तक भित्र एघार भागमा विभाजन गरेर कम्तीमा चार श्लोकदेखि बढीमा चौरासी श्लोकसम्म भएका १४४ वटा कविताहरू प्रस्तुत गरिएको छ ।
एघार भाग मध्ये पहिलो भाग जन्मभूमि भित्र विभिन्न शीर्षकका पन्द्र वटा कविता छन् जसले कविको जन्म स्थान र हाम्रो देश नेपाल बोलेको छ । प्रकृति प्रेम, राष्ट्र भक्ति र सुन्दरतामा निखारिएका कविताका केही उदाहरणहरू यसप्रकार छन् ।
हिमालले पहाडको पहाडले मधेसको
थपेर सान अस्मिता बढाउँछन् स्वदेशको
अनेक सम्पदाहरू जडीबुटी धराभरि
अमूल्य रत्न भित्र छन् नरित्तिने सधैँभरी ।
हो सृष्टिकै सुन्दर रूप यो धरा
यो देशको वैभव हो परम्परा
स्वाधीनता हो पहिचानको कसी
पुर्खाहरूको उपहारको दसी ।
मणिजडित सुनौला शैलका टाकुरा छन्
तलतिर हरियाली फाँट कान्ला गरा छन्
हिमशिखर खुलेका ताज बन्छन् सितारा
अनवरत बहन्छन् स्निग्ध पीयूष धारा ।
यता बत्ती बाटो घरघर पुगेको छ सबको
उज्याला छन् बस्ती प्रकृति पनि लाग्ने गजबको
यहाँ हेर्दाहेर्दै हुरुरु कुहिरो लाग्छ कहिले
यहाँ देख्छौँ हामी बहु विविधता स्वच्छ जहिले ।
मान्छेको प्राण राख्ने लहलह तलका धानमा देश देख्छु
ढाका टोपी मजेत्रो दिनदिन बुनिने तानमा देश देख्छु
डाँफेले नृत्य गर्दा नजिक मुजुरको गानमा देश देख्छु
आत्माको स्नेहचोखो अमरसहिदको सानमा देश देख्छु
दोश्रो भाग दृष्टिकोण भित्र चिन्तन, विचार, गुण, दोष, व्यक्तिगत आचरण, काम, कर्तव्य र अधिकार साथै सिङ्गो मानव सभ्यतालाई समेटिएका अनेकन विषयहरू उठान गरिएका ४७ वटा कविताहरू छन्, केही मुख्य उदाहरण यसरी राखिएको छ ।
जुहारात मोती र माणिक्य हार
कताबाट जोडूँ भनी लम्पसार
परेको छ मान्छे त्यसैको छ दास
भयो जिन्दगी व्यर्थमा सर्वनाश
जान्छ मरेपछि पार्थिव यो तन शेष रहुन् शुभ कर्महरू
सन्ततिले पनि बुझ्न सकुन्पछि नैतिक मूल्य र मर्महरू
भौतिक भोगविलास सधैँभर हुन्न सहायक बुझ्न सकुन्
सभ्यसुसंस्कृत मानवनिर्मित चिन्तनमन्थन पुज्न सकुन्
सहिष्णुता मेलमिलापको घर
बोकेर सामाजिक चेतनास्तर
अगाडि बढ्दै छ भने निरन्तर
बन्नेछ त्यो सभ्य समाज सुन्दर ।
सबैको हो साझा जल जमिन माटो अवनिको
नहोस् तेरो मेरो मनुजबिच सङ्ग्राम ननिको
मरी जाने चोला समय वय नै हुन्छ र कति
हटुन् बाधा सारा सुखमय बनोस् जीवनगति ।
जब चिन्तन चेत विवेक मति
धनको पछि लाग्छ बनेर सती
तब दुर्बल बन्दछ मानवता
रहँदैन दया करुणा ममता ।
धेरै दिग्गज शब्द विज्ञ जनका सम्झेर उद्घोषण
बोलीका रसदार फूल नभुलौँ सङ्लो गराऊँ मन
मान्छेको पहिचान नै वचन हो भुल्दै नभुल्ने गरौँ
मर्दा त्यो इतिहास बन्छ जगमा सोचेर बोल्ने गरौँ ।
तेस्रो भाग सिर्जना र सौन्र्दर्य भित्र १४ वटा कविता छन् । यसमा सिर्जनाको मूल्य मान्यता सिर्जनाको वनावटमा सुन्दरताको पक्ष राखिएको छ जसका केही उदाहरणहरू हेरौँ ।
मेरो काव्यिक चेतले भुवनमा बत्ती सयौँ बाल्नुछ
यो संसार बदल्न स्वच्छ पसिना माटोसँगै गाल्नुछ
देओस् बौद्धिक चेतले भुवनको काया बदल्ने भर
यस्तो कालजयी रचूँ म कविता आफैँ बनोस् सुन्दर ।
कसी लाए मात्रै चमचम हुने हो सुन पनि
मिले बाजागाजा सुमधुर हुने हो धुन पनि
त्यसैले स्रष्टाले पनि कृतिकला पूर्ण निफनुन्
सदा भाषा हाँसोस् कवि र कविता माध्यम बनुन् ।
वाणी हो पहिचान मूल्य जनको आत्मीयताको कसी
वाणी आर्जित तत्व हो सँगसँगै हो सभ्यताको दसी
वाणीमा गुरु भानुभक्त कविका छन् कर्म रेखाङ्कित
वाणीबाट कला र संस्कृतिहरू हुन्छन् सदा झङ्कृत ।
विद्यार्थीको धर्म आराधना हो
राम्रा राम्रा वस्तुको सिर्जना हो
जो थाक्दैनन् ज्ञान विज्ञानबाट
लेख्छन् आफैँ भाग्यमानी ललाट ।
कला सिर्जनामा कलाकार बोल्छन्
गरी साधना स्वच्छ पीयूष घोल्छन्
पखाल्यो भने बन्दछन् चित्त चङ्गा
बहन्छन् कलाभित्र नै भाव गङ्गा ।
चौथो भागमा पथप्रदर्शक शीर्षक दिएको छ यस भित्र हाम्रा राष्ट्र निर्मातादेखि विभिन्न कालखण्डमा देशलाई अमूल्य योगदान गर्ने अग्रजहरूको स्मरण र उहाँहरूको योगदानको उजागर गर्नेकाम गरिएको छ जस्तैः ।
थिए बेग्लाबेग्लै विकसित रजौटा वरपर
सधैँ ईष्र्या सेखी कलह पनि चल्थ्यो घरघर
जुटायौ हे पृथ्वी मुलुक बलियो राष्ट्र गनियो
मिले भाषा भाषी सरहद र नेपाल बनियो ।
आस्था हौ अनुराग हौ हृदयका आराध्य हौ कञ्चन
अत्याचार सहेर बस्न कहिले मानेन तिम्रो मन
केही कायरका सिकार बनियौ अर्पेर त्यो जीवन
त्यो तिम्रो उपहारको छ महिमा स्वाधीन हाम्रोपन ।
परास्त गर्न देशका थिचोमिचो र शोषण
अशक्तमाथि झम्टिने विषालु नागका फण
उचाल्न एकता गरी समस्त लोकका जन
नवीन चेतना दियौ दिशा र दृष्टि दर्शन ।
पाँचौँ भागमा भ्रमण र त्यसको स्मरण समेटिएको छ । नेपालदेखि अमेरिकासम्म पुगेको, अमेरिका घुमेको त्यहाँ देखिएका दृश्यहरू र आफूले यात्रामा प्राप्त गरेका सम्पूर्ण अनुभव र अनुभूतिलाई, १ आरम्भ र अनुभूतिहरू २ विकास र जीवन पद्धति ३ सम्पन्नता भित्रका दुःखहरू ४ प्रविधिको विकास र स्वदेशसँग तुलना ५ प्रकृतिको महत्त्व र संरक्षण ६ संस्कार र परम्परा ७ खानपानको परम्परा जस्ता उपशीर्षक दिएर ८४ वटा एउटै छन्दमा सिर्जना गरिएका श्लोकले अत्यन्तै मजासँग पाठकलाई पनि सँगै घुमाएको छ । यो भन्दा त्यो राम्रो, त्यो भन्दा ऊ राम्रो श्लोकहरू रहेका हुनाले मैले यहाँ त्यो भागबाट उदाहरण तानिन ।
छैटौँ भागमा रचना विवेचना गरिएको छ । यहाँ वरिष्ठ साहित्यकार आदरणीय गुरु कोमलप्रसाद पोखरेलद्वारा लेखिएको धर्मा महाकाव्यलाई समीक्षात्मक काव्यिक चर्चा गरिएको छ । मन्दाक्रान्ता छन्दमा ३३ वटा श्लोक राखेर गरिएको चर्चाले गुरु र गुरुआमा धर्माको स्मृति ग्रन्थलाई पूर्ण न्याय गरेको पाइन्छ जसको एउटा उदाहरण हेरौँ ।
माता धर्मा प्रिय गुरुसखा नायिकाको चरित्र
देखेँ मीठो रसमय सुधा यो महाकाव्य भित्र
आधाबाटो पनि नसकिँदै जिन्दगीको जहाज
पल्ट्यो भावी यतिनिठुर भै भाग्य लेख्दैछ आज ।
सातौँ भागमा अनुभूति र पर्व संस्कृति समेटेर १० वटा कविता राखिएको छ । कोरोनाको समयमा सबै बन्धक भएको बेला तीजमा चेलीले माइत आउन जान नपाएको गुनासोलाई चेली माइतीको संवाद ४० वटा श्लोकमा बडो मीठो ढङ्गले राखिएको छ र अन्य कविता मार्फत हाम्रो पर्व संस्कृतिको मान्यतालाई औल्याउँदै लेखिएको छ जस्तैः ।
संस्कार संस्कृति कला पहिचानभित्र
हुन्छन् सबै मनुजका घटना चरित्र
हो सभ्यता समय मापक मेरुदण्ड
संस्कार बोल्छ इतिहास र कालखण्ड ।
डिस्को बार र रेस्टुराँतिर सरे हाम्रा पुराना दर
दन्काइन्छ विशेष मांस मदिरा सौन्दर्य के हुन्छ र
नाङ्गो नृत्य अशोभनीय गहना विक्षिप्त आडम्बर
आगोझैँ किन सल्किँदैछ यसरी देखासिकी यो तर ।
आठौँ भागमा श्रम र सम्मान विषयलाई समेटेर पाँच वटा कविता राखिएको छ । विशेष गरेर श्रमिकको पनिना कृषिकार्य र कृषकको महिमा गान गरिएको छ यहाँ ।
रहन्छ निष्ठा मिहिनेत साथमा
लिएर औजार सदैव हातमा
मुछिन्छ माटो पसिना अनन्य छ
किसानको जीवन धन्य धन्य छ ।
हिलो माटो मैलो तनभर बनाएर गहना
ठुलो जिम्मेवारी लिइकन चलाएर बहना
गरेका छन् सेवा सकल जनको रोज यिनले
उठाई धर्तीको अति गहकिलो बोझ यिनले ।
नवौँ भागमा पुग्दा श्रद्धा सुमनको शृङ्खला राखिएको छ, १० वटा कविता भएको यो खण्डमा गुरु माता पिता आफूभन्दा मान्यजनमा गर्नुपर्ने आदरभावलाई व्यक्त गरिएको छ ।
जन्मदाता पितामाता ब्रह्मा विष्णु महेश्वर
गुरुकै रूप मानिन्छन् विधाता धरणीधर
नेतृत्व हुन्छ गुरुको अनि हट्छ भ्रान्ति
वेचैनबाट मनले अनि लिन्छ शान्ति
जो बन्दछन् गुरु चिनेर अनन्य भक्त
बन्छन् तिनै सफल यो भवमा सशक्त ।
सानो छँदा काँध लिई रमाउने
हिँडाउँदा हात दिई समाउने
उनै भरोसा र उनै सहायक
आदर्श हुन् जीवनका प्रदायक ।
आस्था हुन् जननी धरोहर उनी हुन् प्रेरणाकी धनी
आफ्ना सन्ततिका निमित्त गहिरो उर्जा भरोसा पनि
अर्को मन्दिर छैन यो भुवनमा आमा बसेको घर
प्यारो लाग्छ अनन्तसम्म भवको आधार यो मन्दिर ।
दशौँ भागमा स्रष्टा र सम्मानका सन्दर्भमा १० वटा कविता आएका छन् । हाम्रा अग्रज स्रष्टा मोतीराम, भानुभक्त, माधव घिमिरे, लक्ष्मीप्रसाद, लेखनाथ लगायत अन्य स्रष्टा र उहाँहरूको सिर्जनात्मक चेतको केही विवरण उल्लेख गरिएको यो खण्ड यसरी आएको छ ।
इच्छा सशक्त जाग्यो भेटेर एक घाँसी
सत्कीर्ति राख्न लाग्यौ श्रद्धा अनेक गाँसी
तिम्रा विचार आफैँ बन्दै गए सशक्त
तारा बनी उदायौ छौ पूज्य भानुभक्त ।
हिरामोती माला मणिजडित सिंहासन पनि
सधैँ आफ्ना हुन्नन् हरपल सँगै सार्थक बनी
सधैँ बाँच्ने त्यो हो असल गुण जे हुन्छ जसमा
भुलौँ लक्ष्मीजस्तै अनवरत साहित्य रसमा ।
एउटै वर्गको मात्र खुल्छ यो गठबन्धन
मान्छे जस्तै कहाँ हुन्छ घसी बाँदर चन्दन
अठोट योजनाभित्र लक्ष्य प्राप्ति छ निश्चित
मह लाउँछ मौरीले फूलबाट क्रमैसित
एघारौँ भागमा प्रकृतिलाई सचित्र उतार्ने काम भएको छ । कविले ऋतु अनुसारका प्राकृतिक रूपरेखालाई अत्यन्तै मार्मिक ढङ्गले उतार्नुभएको छ । हाम्रा वरिपरि भएका अनेकौँ सौन्दर्यहरूको मीठो वर्णन गरेका उदाहरणहरू यसरी लिन सकिन्छ ।
बोकी नयाँ वर्ष वसन्त आउँछ
उल्लासका दिव्य छटा सजाउँछ
पहाडमा चाँप गुराँस फुल्दछ
मयूर डाँफे वनभित्र डुल्दछ ।
बाली झुलेर लटरम्म गरा गरामा
सम्झी नवीन ऋतु खुल्छ वसुन्धरामा
निम्तो दिएसरि छ आँचल त्यो फिँजाई
आओस् शरद् ऋतु समस्त धरा सजाई ।
धरा सिँगार्न लेकमा गुराँस चाँप फुल्दछन्
फुलेर आँप बागमा मधेस चट्ट खुल्दछन्
जताततै छ हौसला प्रसन्नता र जाँगर
यही प्रसन्नता बन्यो वसन्तको उजागर ।
कुमुद कुमुद नौला बागमा छन् फुलेका
अविरल झरना छन् कन्दरामा खुलेका
अपरिमित छ शोभा भव्यता यो अनन्य
प्रकृतिसँग रमाई बन्नुहोस् धन्य धन्य ।
उल्लिखित उदाहरणहरू मैले यस पुस्तक भित्र भएका सयौँ श्लोकहरू मध्येबाट आंशिक रूपमा छानेर केही मात्र लिएको हुँ । मेरो इलाम कविता सङ्ग्रह अत्यन्तै उप्रेरक र आकर्षक शब्द संयोजन एवम् काव्यात्मक कलाले भरिएको अथाह ज्ञान भण्डार भएको पुस्तक हो । यो मेरो इलाम कविता सङ्ग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा कवि इन्द्रनारायण सुवेदीले पु¥याउनु भएको योगदानलाई उच्च मुल्याङ्कन गर्दै हार्दिक सम्मान व्यक्त गर्दछु । यो सराहनीय कार्यको लागि हर्कबढाइँका साथ हार्दिक बधाई एवम् उत्तरोत्तर प्रगतिको अनगिन्ती शुभकामना व्यक्त गर्दछु, धन्यवाद !



