झापा, कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाव बनेर काम गर्न अनुरोध गरेका छन् ।

दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्दै मन्त्री खरेलले कोरियामा रहेका नेपालीहरुको हक, अधिकार र समस्याको सहजिकरण गर्नुपर्नेमा जोड दिए ।
सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाको सम्बन्ध स्थापित गर्दै नेपालमा धेरैभन्दा धेरै कोरियन लगानी भित्र्याउने वातावरण बनाउन भूमिका खेल्न राजदूतलाई आग्रह गरे ।
नेपालका लागि दक्षिण कोरियाका राजदूतले नेपालीको पक्षमा काम गर्न नसकेको, दुई देशबिच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो आइरहेको सन्दर्भमा सञ्चारमन्त्री खरेलले नेपालीमैत्री भएर काम गर्न, दुई देशबिचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गरेका हुन् ।
सञ्चारमन्त्री खरेलले नेपाली राजदूतावास नेपालीहरुको अभिभावक बन्नुपर्ने, दूतावासले नेपाल र कोरियाबिचको सम्बन्ध स्थापित गरिनुका साथै नेपालमा कोरियाको धेरैभन्दा धेरै सहयोग सम्बन्ध विस्तार गरिनुपर्नेमा जोड दिए ।
राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल संघ (एनआरएन) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गरे । उनले नेपालीको हक, अधिकार र समग्र नेपालको हितमा काम गर्न आफूले प्रतिबद्धताका साथ लागेको जिकिर गरे ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सिधा उडान सञ्चालनका लागि पहल गर्न पनि राजदूतावासको ध्यानाकर्षण गराए । उनले कोरियामा रोजगारीका लागि गएका नेपालीहरुको मानसिक स्वास्थ्यका कारण भोगिरहेको विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न राजदूतावासलाई अनुरोध गरे । उनले राजदूतावासमा दरवन्दी अनुसार थप जनशक्ति पठाउन पहल गर्ने बताए ।
सञ्चारमन्त्री खरेलले नेपालको परिवर्तित राजनीतिक व्यवस्था र पछिल्लो परिवर्तनलाई सम्बन्धित देशका दूतावासले त्यहाँ रहेका नेपालीहरुसमक्ष पु¥याई सम्बन्धित देशको कूटनीतिक क्षेत्रमा पु¥याउन आग्रह गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्