दिपक अधिकारी
भद्रपुर । भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भद्रपुर नगरपालिकाको ६ करोड ६० लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

भद्रपुर नगरपालिकाले गठन गरेको क्षति अनुगमन तथा मूल्याङ्कन समितिको प्रतिवेदन अनुसार भद्रपुर नगरपालिकाको मातहतमा रहेका भौतिक संरचना, जिन्सी सामग्री र सवारी साधन गरी ६ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको हो ।

जेनजीले गरेको आन्दोलनमा नगरपालिकाअन्तर्गतका ९ वडा वडा कार्यालय र नगरपालिकाको २ वटा प्रशासनिक कार्यालय भवनमा तोडफोड र आगजनी हुँदा कार्यालय भवन, विद्युत, खानेपानी, रंगरोगनसमेत गरी २ करोड ४१ लाख २९ हजार ७ सय ९९ रुपैयाँ बराबरको क्षति भएको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ । आगजनी तथा तोडफोडबाट क्षति भएका वडा कार्यालयहरू तथा नगरपालिका कार्यालय भवन मर्मत तथा पुनर्निर्माणको लागि भ्याट र कन्टीजेन्सीसहित २ करोड ७१ लाख ९० हजार ८ सय १८ रुपैयाँ बराबरको खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिवेदन अनुसार सवारी साधन र जिन्सी सामग्रीबाहेक भौतिक संरचनामा मात्र १ नं. वडाको १२ लाख ३७ हजार १५ रुपैंयाँ , २ नं. वडाको ९ लाख २३ हजार ६ सय ६६ रुपैयाँ , ३ नं. वडाको ५ लाख २८ हजार १ सय ८७ रुपैयाँ , ४ नं. वडाको १३ लाख ८६ हजार ४ सय ९३ रुपैयाँको क्षति भएको छ ।

त्यसैगरी वडा नं. ५ मा वडा कार्यालयहरूमध्ये सबैभन्दा बढी २२ लाख ५० हजार ४ सय ७८ रुपैयाँ , वडा नं. ६ मा १४ लाख ३१ हजार २ सय ५६ रुपैंयाँ , वडा नं.७ मा १४ लाख ६७ हजार ५९ रुपैंयाँ , वडा नं.८ मा १९ लाख २२ हजार ५ सय ४६ रुपैयाँ र वडा नं. १० मा ९ लाख २४ हजार ९ सय २६ रुपैंयाँको क्षति भएको छ भने नगरपालिकाको प्रशासनिक भवनमा १ करोड १४ लाख ५८ हजार १ सय ६९ रुपैयाँको क्षति भएको छ । ९ नं. वडा कार्यालय भाडामा रहेकोले कुनै पनि क्षति भएको थिएन ।

त्यसैगरी भद्रपुर नगरपालिका कार्यालय र कार्यालयअन्तर्गत वडा कार्यालयहरूमा रहेका सवारी साधनहरूमा २ करोड ३० लाख ६५ हजार ८ सय ४९ रुपैंयाँ बराबरको क्षति भएको छ । प्रतिवेदनमा उल्लेख गरे अनुसार ७० लाख ९५ हजार रुपैंयाँ बराबरको मे.१.झ.१६१ नम्बरको महिन्द्रा स्कोरपिओ (जुन नगर प्रमुखले प्रयोग गर्ने गरेका थिए), १८ लाख ४० हजार रुपैंयाँ बराबरको मे.१.झ.१६७ नम्बरको डाट्सन गो कार (जुन नगर उपप्रमुखले प्रयोग गर्ने गरेका थिए) पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
त्यसैगरी ६ वटा मोटरसाइकल र २ वटा स्कुटरमा पूर्णरुपमा क्षति भएकोमा २ वटा मोटरसाइकलको मूल्य खुलाइएको छैन । २ वटा ट्रयाक्टर, एम्बुलेन्स, फोर्ड कार , अन्य निकायबाट स्वामित्व हस्तान्तरण भएर आएका मूल्य नखुलेका सवारी साधन र कर्मचारीको एउटा निजी मोटरसाइकल पनि पूर्णरुपमा क्षति भएको नगरपालिकाको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी जिन्सी मालसामानको क्षतिमा वडा नं. १ मा ८ लाख ३७ हजार ८ सय ५९, वडा नं. २ मा १२ लाख २९ हजार ६ सय १० , वडा नं. ३ मा ७ लाख ४१ हजार ४ सय ६१, वडा नं.४ मा ९ लाख ८२ हजार २ सय ३ , वडा नं. ५ मा ५ लाख ९४ हजार ९ सय ३ , वडा नं. ६ मा ७ लाख ६७ हजार ३ सय १७ रुपैंयाँ बराबरको जिन्सी सामग्री क्षति भएको समितिले उल्लेख गरेको छ ।
त्यसैगरी वडा नं. ७ मा ७ लाख ६० हजार ४ सय ८०, वडा नं. ८ मा ६ लाख ६७ हजार ५ सय ३४, वडा नं. ९ मा ४ लाख ७ हजार २ सय २ ,वडा नं. १० मा ५ लाख ६६ हजार ५ सय ७२ , नगरपालिकाको पुरानो भवनमा ३ लाख ९ हजार ३ सय ९९ र नगरपालिकाको २ वटा प्रशासनिक कार्यालय भवनमा ७९ लाख ६८ हजार १ सय ११ रुपैंयाँ जिन्सी सामग्री क्षति भएको जनाइएको छ । १० वटै वडा कार्यालय र नगरपालिकाको पुरानो र २ वटा नयाँ भवनमा गरी जम्मा जिन्सी मालसामान १ करोड ५८ लाख ३२ हजार ६ सय ५१ रुपैंयाँ बराबरको क्षति भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भद्रपुर नगरपालिका कार्यालय र वडा कार्यालयमा रहेको जिन्सी सामान तथा सवारी साधनको क्षतिको विवरण र कार्यालय भवन तथा वडा कार्यालय भवनहरूमा पुगेको क्षतिपछि मर्मत, सम्भार, पुनर्निर्माण , बत्ती, पानी, रंगरोगन गर्न लाग्ने खर्चको विवरण निकाल्न नगरपालिकाले ५ सदस्यीय क्षति अनुगमन तथा मूल्याङ्कन समिति गठन गरेको थियो । समितिको संयोजकमा योजना शाखा प्रमुख मदन कँंडेल तथा समितिको सदस्यमा प्राविधिकका तर्फबाट इन्जिनियर सुजितकुमार कर्ण, राजश्व शाखा प्रमुख सुशिल कर्ण, कानूनविदका तर्फबाट कानून शाखाका राजेन्द्रप्रसाद ढकाल र सदस्य सचिवमा जिन्सी शाखा प्रमुख गणेश श्रेष्ठ रहेका थिए । समितिले गत बुधबार प्रतिवेदन नगरपालिकालाई बुझाएको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्