
साहित्य सम्बन्धमाः
घटनाको प्रत्यक्ष अवलोकनले मस्तिष्कमा गहन प्रभाव पर्दछ। यथार्थमा जस्तो संसार भोग्यो उस्तै दृष्टि निर्माण हुन्छ। जम्काभेट हुँदा व्यक्तिले विश्वघटनाका विविध आयामलाई कुन गहिराइ र उचाइ, कति आयतन, दायरा र हदसम्म बोध गर्छ त्यही नै उसको वास्तविक जीवनविश्व हो। यसै आधारमा व्यक्तिमा सुझबुझ, अर्थ, स्वीकृति, मान्यता, दृष्टिकोण, विवेक, श्रम, क्षमता, इच्छाशक्ति, बाँच्नेशैली, विश्वास, अनुभूति, अनुभव, धारणा, प्रवृत्ति, नेतृत्व, निर्णय, अन्तरक्रिया, व्यवहार र चिन्तनप्रणाली जस्ता जीवनका तमाम आयाम विकास हुन्छन् ।
जागरण र सचेतना व्यक्तिको गुणसापेक्ष हुने भएकोले जीवन र जगत सम्बन्धी धारणा सबै मान्छेको समान हुँदैन। यस हिसाबले सबै मनुष्य जागृत (इनलाईटेन्ड) हुँदैनन् । परिवेशले मनोदशामा जस्तोसुकै प्रभाव छोडेपनि त्यसबाट मुक्त भएर आत्म–अन्तरदृष्टिबाट जस्तो जीवन छ त्यस्तै भेद गर्न सकिएमा मात्र चेतचैतन्यको विम्ब मानव सृष्टि सार्थक हुने ठान्दछु ।
सौन्दर्य, श्रृङ्गार र अलङ्कारको खात मात्र होइन साहित्य। थपमा, संसारको ऐतिहासिक पुनःरावलोकन र लेखाजोखा, विद्यमान विश्वचलराशीको दर्शन, यथार्थको पूर्वाग्रहरहित चित्रण र तटस्थ उजागर, मौलिक लेखोट वा लेख्य सङ्ग्रह, बोधअभिव्यक्तिका साथै विज्ञान र मूल्यको संयोजन अनि सम्भाव्य भविष्यको मोटामोटी आँकलन र सुनिश्चित जीवन रूपान्तरणको मार्गचित्र पनि हो।साथै ठोस अनुभव, अनुभूति, वेदना, संवेदना, भावना, कल्पना, सन्देह, मनोदशा, मूल्य, धारणा, ज्ञान आदिको विम्ब हो। कथा, कविता, गीत, नाटक, अभिनय, निबन्ध, उपन्यास, मनोवाद जस्ता आयाम लगायत लेख, दस्तावेज, अनुसन्धानबाट प्राप्त तथ्य विश्लेषण र संश्लेषणको निचोड सबै साहित्य र आख्यानका रूपस्थिति हुन् ।
साहित्यिक आकार बिस्तारित छ। परन्तुः वैज्ञानिक बोधको दर्पण बन्नुपर्नेमा प्रगतिशील र अप्रगतिशील लगायत अनेक कित्तामा विभक्त छ साहित्य । यसरी विभक्त गर्नु सिर्जना माथिको बक्रदृष्टि र बेइमानी हो, मेरो बुझाइमा। स्रष्टा विचारनिर्माता, सूचना संवाहक र सचेतन सम्प्रेषक हो, तथ्यबाट सत्य बोध गराउने ऐना हो। स्रष्टाले दासता नस्वीकारी स्वतन्त्र भएर सार्वजनिक मञ्चमा खडा हुनुपर्छ। यस अर्थमा आख्यानकारको जीवन चुनौतिपूर्ण हुन्छ। परन्तुः जोखिम मोलेरै भएपनि तथ्य पर्गेल्ने साहित्य आजको आवश्यकता हो ।
विषयप्रवेशः
योगावशिष्ट वैराग्य प्रकरण अनुसार–वैराग्य नभएका हृदयमा दर्शनका मर्मभाव प्रविष्ट गर्न कठिन हुन्छ। मान्छेको सिर्जनासामर्थ्य पनि वैराग्यपनबाटै प्राप्त हुन्छ । परिस्थितिजन्य सङ्कटको यथानुभव गराउन सक्ने आख्यान त झनै कठोर साधनाबाट मात्र जन्मन्छ। भौतिक रूपमा गुमनाम हुँदा मान्छेका अनुभव, ज्ञान, सामर्थ्य, संस्कृति सबै ओझेलमा पर्न सक्छन् । कतिपय मान्छे ‘नचिनिने गरी उड्ने वस्तु’ अनआइडेन्टिफाइड्ङ्गली फ्लाइङ्ग अब्जेक्ट–जस्तै बेलगाम उडिरहेका हुन्छन्। यस्तो वायुपङ्खी बेगयात्रामा अचानक व्यवधान तेर्सियो भने त्यसले उसभित्र कस्तो मानसिक व्याकुलता पैदा गर्ला ?
खास समय–स्थान परिवेश, आफू, अरूअन्य पात्रकर्ता, घटना परिघटना र प्रवृत्तिबारे कहिंकतैबाट बोध गरिएन भने त्यस तथ्यलाई मानसपटलमा उतारेर (भिजुअलाइजिङ) एक्लै एकान्तमा ऐनामा आफ्नै अनुहार हेर्दै आँशु झार्दै भक्कानिएर रून र मन चङ्गा हुनेगरी खित्का छाडेर हाँस्न सक्ने कल्पनाशक्तिका धनकुबेर मात्र उम्दा आख्यानकार बन्छन् । साहित्य यस्तै रूने, हाँस्ने, उड्ने मन र वैराग्यता पैदा गर्ने श्रृष्टिसाधन हो।‘खुशीको गाउँ’ ले पनि धेरैलाई वैरागी बनाउनेछ, उडाउनेछ, रूवाउनेछ, हँसाउनेछ भन्ने मलाई लाग्छ।
जीवन रुपान्तरणको निमित्त लेखिसकिएको विषयमा पुनः लेखन गर्नुको कुनै अर्थ हुँदैन। लेखिएको विषयमा बारम्बार लेखिरहेको नाटक गर्नु समयको बर्बादी र पाठकलाई मूर्ख बनाउने चेष्टा गर्नु मात्र हो। अभि सुवेदी (२०७६)का अनुसार यहाँ साहित्य नलेखिएको र मौन छ। यद्यपि मौनताले पनि खतरनाक अर्थ बोलिरहेको हुन्छ।
आजको दुनियाँमा यथार्थ लेख्नु खतरा मोल्नु हो। नलेखिएको विषय र वोल्न नसक्नेको निम्ति चुनौतिपूर्ण किसिमले लेख्नु सर्जकको दायित्व हो। शरणार्थी र बस्तीबीचको चुनौतिपूर्ण प्रेमिल कथानकले भरिएको ‘खुशीको गाउँ’ नलेखिएको मान्छेको मौनता भङ्ग गर्न लेख्नैपर्ने विषयमा कलात्मक ढङ्गले लेखिएको आख्यान ठान्दछु।
डुब्ने ‘कर्ता’–‘एक्टर’ र देख्ने ‘द्रष्टा’ ‘भ्युअर’ दुवै दृष्टिको सन्तुलित र संयोजित प्रस्तुति अब्बल आख्यानको चरित्र हो। प्रेमलाई केन्द्रीय तत्व मान्ने परम्परा भएकोले होला सायद, सर्जकले प्रेमसम्बन्धको आवरणमा शरणार्थी र गाउँले दृष्टि र तिनको जीवनकथालाई मार्मिक र करूण शैलीमा पटाक्षेप गर्नुभएको छ ।
विविध असहजताका कारण मान्छेका मनमा खाँदिएका असिम पीडा, दर्द, चिन्ता, कुण्ठा, रोदन दवाएर आवरणमा बाँच्न सक्ने जीवनको अनावरण गर्न सक्ने आख्यानकारको मनोदशा र सामर्थ्य क्या गज्जब लाग्यो। रहस्यमा रहेका जीवन र यावत् वास्तविकताको सुबोध्यशैलीमा अनावरणित ‘खुशीको गाउँ’ पुस्तक पुनरावलोकन गर्ने अवसर पाएकोमा खुशी लागेको छ। आख्यानका विविध पक्षपक्षान्तर बारेका मेरा दृष्टिकोण र धारणालाई यहाँ संक्षिप्त उल्लेख गरेको छु।
शरणार्थी जीवनः
आख्यानमा स्वतन्त्रताका लागि आवाज उठाउँदा जिब्रो थुतिएका, आफनै माटोमा गरिखाउँ भन्दा सर्वस्व लुटिएका, नेपालीपनकै देशभूषा, भाषा र धर्म संस्कृतिमा दरिएका कारण सर्वस्वहरणमा परेका, आफ्नो जिन्दगी र भविष्य नै अनिश्चित भएका, शरण परेर बाँच्नको लागि प्राणको याचना गर्दा समेत मृत्युवरण गर्न बाध्य भएका, दातृसंस्थाले दिएको सातुको भरमा प्राण धानेका, पुस्तौंदेखि रगतपसिना बगाएको माटो र पहिचान खोसिएर ‘विकलाङ्ग’ शिबिरे मनोदशा–पढ्दा कटक्क मन खायो। साथै, बाहिरबाट अर्काको भूमिमा प्रवेश गरेका भोटेहरू कसरी शासक बने ? आफ्नो थातथलोमा आफै शासित बन्नुपर्ने अवस्था कसरी पैदा भयो ? के यसको कारण नेतृत्व नै हो ? सर्जकले ज्यादै पेचिला प्रश्न उठाउनुभएको छ ।
पारस्परिक अन्तरसम्बन्धः
सर्जकले शिबिरे जीवनावस्था र रैथानेबीचको न्यानो सम्बन्ध उजागर गर्नुका साथै परिवेशले जुराएको जम्काभेटबाट राधिका र राजेन्द्रबीच मौलाएको प्रेमकथाले आख्यानलाई थप रोचक बनाएको छ। अर्को रोचक पक्ष, उल्टै शरणार्थी पो बस्तीको दाता बनेको कुराले म छक्क परें। यसरी प्रेमको आवरणमा गाउँबस्ती र शरणार्थीबीचको आत्मीय र परस्पर सम्बन्ध ‘रेसिप्रोकल इन्टरेलेसनशिप’ को पाटोलाई समेत सुक्ष्म ढंगले अनावरण गर्नसक्नु सर्जकको उत्कृष्ट कला हो।
प्रेमिल मनोवादः
प्रेम सृष्टिको सुन्दरतम सिर्जना हो। प्रेम मीठो अनुभूति हो। प्रेमको रङ, आकार, आयतन, गन्ध केही हुँदैन। प्रेमलाई जात, रङ, भाषा, लिङ्ग उमेर र भौगोलिक सीमाले प्रभाव पार्दैन। हरेक व्यक्तिले देखेको, सुनेको र भोगेको आधारमा आ–आफ्नो परिभाषा दिएतापनि प्रेमको सर्वमान्य परिभाषा स्थापित छैन। तसर्थ निस्वार्थ भावले एकअर्कालाई बुझ्नु र महसुस गर्नु नै प्रेम ठान्छु। तर आज ‘आइ लभ यू’ शब्दमा सीमित छ प्रेम। जेनजी नामीत पुस्ताको ‘फेसबुके’ प्रेमको ‘प्रलाप’ त झनै उराठ र उदेकलाग्दो प्रतीत हुन्छ। प्रेमको सहि अर्थ र मूल्य पर्गेल्दै प्रेमसँग गाँसिएको मन र मस्तिष्क बीचको अन्तरद्वन्द्व झल्काउने आख्यानकारको रङ्गीन मनोवाद पनि कम चाखलाग्दो छैन।
प्रेमलाई प्रेरणादायी शक्तिस्रोत ठान्दै सर्जक–आफनै जीवनसँग प्रेम नहुनेको अर्कासँग भान के होला ? समयसँगै बदलिंदै जाने तर आफू बन्नै नदिने वाह्य परिवेशसँग कसैको केही नलाग्दोरहेछ । प्रकृतिले प्रेम गर्ने मन दिएको छ तर दुनियाँले प्रेम गर्ने छुट दिंदैन । भावनाको थोरै ताप पर्नासाथ पग्लिने प्रेमिल मन र साँचो प्रेममाथि बन्देज लगाएको छ समाजले । प्रेमविहीन पारेर कैयौं जिन्दगीलाई मरूभूमि ‘रेगिस्तान’ बनाइदिएको छ।
अव कसलाई सुम्पिने विश्वासको बैलो ? कठ! ‘रमाइलो’ भन्ने पनि मनमा पिर नहुँदा मात्र हुनेरहेछ। मनभरि ‘चोट’ र ‘पिर’ परेपछि दशैं, तिहार, चाडपर्व पनि खल्लो र निरर्थक लाग्दोरहेछ। प्रेमिल मन र भोक यस्तो अचम्मको हुनेरहेछ कि, कैयौं रात भोकै सुतेपनि मन बेखुसी छ भने भोक लागेको पत्तै नहुने रहेछ। मन खुसी हुँदा भोक लाग्ने नहुँदा नखाँदा पनि हुने कस्तो हो यो मन र भोक ! यही कारण कैयौं मान्छे सबै कुरा त्यागेर प्रेमीसँगै बाँच्ने ऑट गर्दा रहेछन् ।
प्रेम मनसँग सम्बन्धित छ। दिमाग पो प्रेमको बाधक रहेछ। मनले स्वीकृति दिएपछि शरीर एक हुनु स्वभाविकै हो तर समाजको व्यवस्थाले त्यो मनलाई छुट दिदैन। समयअघि शारीरिक सम्बन्ध अवैध मान्छ समाजले त्यही समाजको आज्ञा मान्दोरहेछ दिमाग, मनलाई बाँध्न दिमागले भूमिका खेल्दोरहेछ तर दिमागलाई सधैं जित्न खोज्ने मनलाई रोक्न कति गाह्रो। प्रेमविना गरेको शारीरिक सम्बन्धले जीवनसाथी र श्रीमान श्रीमती बनाउँदैन। त्यस्तो सम्बन्ध त बलात्कारको सम्बन्ध हो।
प्रेम, मन र समर्पण एउटासित शरीर अर्कोसित भएर लोग्ने स्वास्नी बनिन्थ्यो भने आज म पनि त्यो लोग्नेको स्वास्नी नै बनिरहेको हुन्थें। एउटासँग गरेको प्रेम अर्कोतिर नसर्दोरहेछ। श्रीमान श्रीमतीको सम्बन्ध यस्तै शरीरको सम्बन्धले जोडेको हुँदोरहेछ। यस्तो सम्बन्ध जति सन्तोषजनक भयो त्यति नै वैवाहिक सम्बन्ध पनि मजबुत हुँदोरहेछ ।
प्रेमलाई उच्च सम्मान दिने खुसीजीले प्रेमको नियम जुनसुकै समाजमा पनि एउटै हुन्छ। न्यायिक समाजको मान्यता राख्नेले आफ्नो मात्र स्वार्थका लागि सोच्नुहुँदैन । कतिले त विवाहपूर्व नै बच्चा जन्माएर अपहेलित बनेका छन्। कति मान्छेहरू त प्रेम विना जन्मिएर विनाप्रेम नै मर्दारहेछन् । सत्य त यो हो कि सबै गर्भ प्रेमको उपज हुँदैन। बलात्कारबाट बसेको गर्भ, करकापको यौन सम्बन्धबाट बसेको गर्भ पो घृणित र अपहेलित हुनुपर्ने ।
प्रेमिल समागमबाट बसेको गर्भ त प्रेमको उपजका रूपमा स्वीकार गर्नुपर्ने थियो, त्यस्तो बच्चा जन्माउनलाई त सम्मान र प्रेम दिनुपर्ने थियो तर सामाजिक व्यवस्थाले त्यही सुन्दर प्रेमका उपलब्धिलाई घृणा गर्ने उल्टो नियम बनाएको छ–भन्दै मन, दिमाग, प्रेमशक्ति र विद्रोह वीचको अन्तरद्वन्द्वलाई चुस्तशैलीमा व्यक्त गर्नुभएको छ। प्रेमको मामलामा समाजले बनाएको नियम र मान्यता भत्कियोस् भन्ने कठोर रूझान राख्ने सर्जकले सङ्गतिहीन सम्बन्धविरूद्ध साँचो प्रेमको पक्षमा विद्रोह स्वरूप खोक्रो दयाभाव राख्ने तर असमान व्यवहारबाट मानवीय मनमाथि तीर चलाउने दानवीय समाज उपर कडा प्रहार गर्नुहुन्छ ।
सीमारहित प्रेमः
आखिर सीमा त हुँदैन नि प्रेमको। प्रेम त सत्यवाहक र अमरत्वको प्रतीक हो। प्रेमले जीवन र जगतको बोध गराउँछ। जीवन र जगतको बोध गराउने यस्तो प्रेम कहिल्यै सीमामा बाँधिदैन। दुई मन बीचको व्यवधान र सीमारहित सम्बन्धको अर्को रूप नै प्रेम हो। सीमामा बाँधिने प्रेम त क्षणभद्गुर हुन्छ। मान्छेको नैसर्गिक स्वतन्त्रतामाथि जबरजस्त व्यवधान खड़ा गर्ने सीमाले मनुष्य जीवन उजाड, उराठ, निरस र निरर्थक बनाउँछ। राजेन्द्र र राधाको प्रेमिल सम्बन्ध र विवाहमाथि लादिएको सांस्कृतिक बन्देज सम्बन्धमा शिबिरे तिवार्नी दिदी, राजेन्द्र र राधाबीचको संवादलाई “हामी त स्वतन्त्र जस्ता देखिने पखेटा काटिएका पंक्षी हौं। चारवटै खुट्टा काटेर फालिएका पशु हौं कसैले घाँस, पराल, खोले फांडो राखिदिएमा मात्र पेट भर्न पाउँछौं, नभए भोकै बस्नुपर्छ। यस्तो अनिश्चित भविष्य लिएर अस्थिर जिन्दगी हामी आफै बाँचिरहेका छौं, अरूलाई यो दलदलमा नफसाउँ छोरा।”
“हामी शरणार्थीहरू त यति निरीह रहेछौं नि राधा, हामी जातमा मान्छे भएर पनि मान्छेको स्तरमा पुग्न सक्ने रहेनछौं। हाम्रो जस्तो मुटु हुने, हाम्रो प्रेम र भावना मिल्ने समाज त यो दुनियाँमै रहेनछ। यी भावनालाई, यी प्रेमलाई नबुझ्दा पनि हुने कस्तो मानवीय व्यवस्था ? यी मानवीयता, संवेग, संवेदना, विवेक बुद्धि भन्ने कुरा पनि मान्छेले आफ्नै स्वार्थका निम्ति प्रयोग गर्ने कुरा मात्र रहेछन्। स्वार्थभन्दा बाहिरका अवस्थामा त मान्छे कठोर र निर्दयी बन्दोरहेछ। तिमीले मसँग जीवन बिताउन तयार हुँदा तिम्रा बुबाआमा, तिम्रो परिवार, आफन्त, सारा समाज, मान्छे हुनुको हक अधिकार मात्र होइन, तिम्रो स्वतन्त्रता समेत गुमाउनुपर्छ।” ज्यादै मनभेदी भावमा जीवन्त चित्रण गर्नुभएको छ।
शिक्षा, श्रम र आत्मनिर्भरताः
पढाइ र विद्यालाई भन्दा धन पुज्ने दुनियाँ सचेतलाई खुइल्याउनमा आनन्द मान्छ। अन्धविश्वास, कुरीति, कुप्रथा, कुसंस्कारपछि नअँगाल्नेको उछितो काट्छ । शिक्षित भनाउँदाहरू कथित सिस्टमको ऐचमा बसेर शिर झुकाएर जागिर खाने नाममा मालिकको दास बन्नुमा गर्वानुभूति गर्छन् ।
यस्तो खोक्रो जीवनभन्दा वरू आफ्नै श्रममा दाउरा बेचेर जीवन चलाउनु श्रेयस्कर ठान्नुहुन्छ आख्यानकार। समाजले मान्छेको भन्दा प्रमाणपत्रको बढी सम्मान गर्ने भएको हुँदा प्रेमलाई साकार बनाएर सम्मानित जीवनकै लागि पढेर परीक्षा दिन कस्सिएकी पात्रमार्फत सर्जकले पढाइलाई इज्जत र महत्व दिनुहुन्छ। ठगीको कमाइले चौरासी व्यञ्जन खानुभन्दा मेहनतले सागसिस्नु वा मोहीमा नुन हालेर भोकमा प्रफुल्ल मनले भोजन गर्नु उचित ठान्ने आख्यानकारले श्रमप्रति घृणा र अनादर गर्दै फोस्रो इज्जत सिकाएर मनलाई उदासिन बनाउने प्रभुत्ववादी व्यवस्था र परपीडक संस्कृतिबाट मुक्त हुनुपर्छ भन्नुहुन्छ ।
हत्केलामा जतिसुकै ठेला उठे पनि पौरखीले कहिल्यै दुःख मान्नुहुँदैन, आफूले बाँचेको जीवनमा सन्तोष मान्न सक्यो भने आनन्द र खुसी माग्न अन्त कहिपनि जान पर्दैन, पैसा कमाउन र समृद्धि प्राप्त गर्न विदेश जानुपर्छ भन्ने छैन भन्नुहुन्छ आख्यानकार। अभाव पीडामा जन्मिहुर्केकी दाउरा बेचेर बाँच्ने नारी स्वतन्त्र र आत्मनिर्भर जीवन हासिल गर्न सफल दृष्टान्तले आफ्नै पौरखमा रमाउने आत्मनिर्भर र स्वाभिमानपूर्वक बाँच्नुपर्छ भन्ने प्रेरणा दिएको छ ।
छेडखान र आडम्बर उपर व्यंग्यः
छोरी कुटेर बुहारी तर्साउने अवस्था सिर्जना गराई विभेदकारी संस्कृतिकरणको ढाँचा छ हाम्रो परिवेशमा। बुहारी बनेर घरका नातापाता सबैलाई गच्छेअनुसार खुशी पार्न र रिझाउन नसक्ने छोरी मान्छे अयोग्य ठहरिन्छन् र काम लाग्दैनन् भन्ने गरिन्छ। कतै सौता खेपेर चाँच्नुपर्ने होकि भन्ने तनावका बावजुद सँधै हँसिली भएर वस्नुपर्ने अन्यथा अलच्छिनी भइने अवस्था सिर्जना गरिन्छ ।
अर्को पक्ष नारी विश्वको महानता, महत्ता र मूल्यलाई धुमिल पार्ने यान्त्रिक आभूषणमा सजिने ‘पपेट’ महिलाप्रति पनि कठोर दृष्टिकोण राख्नुहुन्छ सर्जक । जस्तो– हिरोइन त स्तन र कम्मरको नापको आधारमा पो हुँदारहेछन्, अहिलेको समाजमा व्यवहारको कुनै स्तर छैन, व्यवहार जस्तो भए पनि भयो, शरीर र अनुहार राम्रो हुनुपर्छ अहिले, कस्तो उल्टो व्यवस्था। अहिले त व्यबहार र चरित्रभन्दा बाहिरी आवरण सिंगार्नमा समय र पैसा खर्चने जस्ता आडम्बरी जीवन सर्जकलाई मन नपरेको पाएँ।
उदार नारीमनोदशाः
वाध्यता हो या प्राकृतिक यथार्थ, वास्तविक जीवनमा हुन्छ कि हुँदैन मलाई जानकारी छैन। तर प्रेमप्रति उदार नारीमनोदशाको अनुपम दृष्टान्त पेश गर्नुभएको छ सर्जकले । आफ्नो श्रीमानलाई प्रेमिका भेट्न पठाउन सक्ने उदारता नारीमा हुँदोरहेछ भन्ने यो पुस्तक पढ्दा थाहा भयो। वहाँ भन्नुहुन्छ– मनलाई जत्रो र जस्तो पनि बनाउन सकिनेरहेछ। यता मैले अर्काको लोग्नेमाथि मेरी भनेर हक जमाइरहेकी छु।
गहिरो प्रेम भएको तर परिस्थितिले छुट्न वाध्य पारेको अवस्था र राजेन्द्रको चिन्तामा ग्रस्त भै मरेर पनि बौरिएकी र एक्लै भएपनि राजेन्द्रलाई नै सम्झेर बाँचिरहेकी राधिकाको हालत बारे धनमायालाई जानकारी थियो। दुवैको खुसीमय जीवनको लागि नेपालमा भएकी राधिकासँग भेट्न अमेरिकाबाट नेपाल जान आफ्नो श्रीमान राजेन्द्र तिवारीलाई सहमति र स्वीकृति दिनसक्ने र आफ्ना छोराछोरीलाई राधिकालाई ‘सानीमा’ भन्न समेत सिकाएकी धनमायाको नारीउदारता ज्यादै घतलाग्दो छ।
आँशु र रोदनः
आँशु र रोदनलाई नारीको मात्र एकलौटी गहना भन्छन् मान्छेहरू। कतिपय नारीले त रोएरै जित्छु पनि भन्दा हुन् । भन्छन्, पुरुष रुदैन, रूने पुरूष त मरे सरह हो। होइन रहेछ यस्तो त। पुरूष रूदैन भन्ने कुरा म मान्दिनँ। नरूने मन भएको पुरूष पनि हुन्छ र? प्रेम वियोगको पीडा एकनाश लठ्याइरहने नशा जस्तो हुन्छ भनेर प्रेमको अनुभूति नै नगरेकालाई के थाहा। खुसीजीले पनि यही कुरालाई मान्दै आउनुभएको थियो होला शायद, राजेन्द्र रोएको देखेपछि मात्र पुरूष रून्छन् भन्ने सत्य बोध भएछ। “छोरो मान्छेभित्र दिल हुँदोरहेछ, छोरी मान्छेमा जस्तै उसमा पनि भावना हुँदोरहेछ, दुःख लाग्दोरहेछ, आँशु झर्दोरहेछ, चोट पर्दा घोप्टो परेर रूँदोहेछ” भन्ने यथार्थ राजेन्द्रको भक्कानिएको रोदनबाट मात्र थाहा भएछ क्यारे उहाँलाई। आँशुले मनको मैलो पखाल्छ, रोएपछि मन हल्का हुन्छ भन्नेकुरो हो रहेछ। एक्लै भक्कानिएर रूँदा मन हल्का भएको भन्ने हरफ पढ्दा मन भारी भएको अनुभव भयो ।
समाज र भयमुक्त जीवनः
संसारमा समाज र सामाजिक भन्ने कुनै चिज हुँदैन। हुन्छ त केवल मानिसको भौतिक उपस्थिति, उसको मन, मस्तिष्क र सांस्कृतिक मनोदशा ( कल्चरल मेन्टल मोडेल) मात्र। त्यसैले समाज भनेको भ्रम मात्र हो, मैले यसरी बुझ्छु। वास्तवमा खुसीको नारीविद्रोह त यहाँ पो देख्छु म त । वास्तवमा लुकाएर राखेका भित्री कुरालाई खुलाउन सक्ने व्यक्ति नै स्रष्टा बन्छ। पाप र धर्म प्रति सजग आख्यानकारले पाप र धर्म मान्छेको मन र मानव व्यवस्थासँग जोडिएको अपरिहार्य विज्ञान ठान्नुहुन्छ। खास चरित्रको भूमिका उदाङ्गो प्रकट नभएसम्म उसको सक्कली रूप देखिँदैन ।
समाजका अगाडि सामाजिक लाग्ने केही मान्छे गोप्य रूपमा त ऊ पशुजस्तो हुनेरहेछ । समाजका आगाडि गर्न हुँदैन भनेका कुराहरू पनि समाजका आँखाले नदेख्ने ठाउँमा गरिरहने, रहस्यमै राखे पनि समाजको अन्तर्य बुझेकी सर्जक सामाजिक भयबाट मुक्त भएको पाएँ। वर्तमानलाई वास्ता नगरेर केही मान्छेहरू अनिश्चित भविष्यको चिन्तामा डुब्छन् । राजेन्द्र पात्रको भनाइमा सहमति जनाउँदै आख्यानकारले अमेरिकीहरू आफ्ना लागि बाँच्छन्, आजका लागि बाँच्छन् । जति बाँच्छन् खुसीसाथ बाँच्छन् । यहाँका हामी भोलि खुसी पार्नका लागि बाँच्छौ। अरूलाई खुसी पार्न बाँच्छौं। त्यही भएर कहिल्यै खुसी हुँदैनौ। त्यसैले स्वतन्त्र भएर आफ्ना लागि वर्तमानमा उन्नत जीवन बाँच्नुपर्छ भन्दै आनन्द जीवनमार्गको सुझाव समेत दिनुहुन्छ सर्जक ।
पत्रकारिता र सुझावः
पत्रकारलाई सुझाव दिनुहुने खुसी मिसनप्रेरित पितपत्रकारितामा विश्वास गर्नुहुन्न। “पत्रकारले अरूको सुन्नुपर्छ। सुन्न नसक्ने मान्छे पत्रकार हुनैसक्तैन । धेरै सुनेर थोरै तर सत्य कुरा सम्प्रेषण गर्नुपर्छ पत्रकारले” भन्दै पत्रकारिताको खास धर्म र कर्मप्रति सजग गराउन निष्ठावान पत्रकारको आदर्श आत्मसात गर्नुपर्ने कुरामाथि जोड दिनुहुन्छ सर्जक ।
संश्लेषणः
सामान्यतयाः परिवेश, दृष्टिकोण, कथानक, पात्र, विषयवस्तु, शैली, संघर्ष जस्ता तत्व मिश्रित चरणवद्ध ‘एल्गोरिदमिक’ प्रक्रियालाई आख्यान भन्ने गरिन्छ। ‘पेटेन्ट राइट’ अधिनस्थ गर्ने केही रूपासे समालोचकहरू आख्यान उपर–परम्परावादी, आधुनिकवादी, उत्तरआधुनिकवादी स्वच्छन्दतावादी, अराजकतावादी, विनिर्माणवादी, प्रगतिवादी, यौनवादी, मनोविश्लेषणात्मक, आयामवादी, महिलावादी, आदर्शवादी, प्रतीकवादी, संरचनावादी, यथार्थवादी, नारीवादी, पुरुषवादी, जनवादी, लोकवादी, समाजवादी, पुँजीवादी जस्ता ‘उपमा’ र ‘लेबल’ लगाएर अनेक वाद र कित्तामा विभक्त गरिदिन्छन् ।
कसैको सिर्जनालाई विशेषण पहिराइदिने विभेदकारी मनोदशासँग सहमत छैन म। जीवनको यथार्थता पर्गेल्ने आख्यानकारको मौलिक ‘सिर्जना’ र ‘घट’ भएकोले यस आख्यानलाई मैले ‘खगिन्द्रावादी’ या त ‘खुसीवादी’ धाराको भन्छु। कसैकसैले प्रेमकथालाई संयोगान्तकबाट शुरू गरेर संयोगान्तकमै टुङ्ग्याउँछन् त कसैले वियोगान्तकमा । तर यो संयोगान्तक प्रेमकथा हो। यसरी प्रेमचक्रभित्र घुमिरहने मान्छेको प्रेम, मन (अहंकार), चेतना र शरीर बीचको अन्तरद्वन्द्वात्मक सम्बन्धलाई औपन्यासिक शैलीमा प्रस्तुत यो आख्यानलाई मैले विशिष्ट ठानें।
आख्यानका यान्त्रिक सीमा कोरिएका छन्। तर कुनै पनि स्वतन्त्र साहित्यकार, आख्यानकार, समालोचक र सर्जक त्यस्तो सीमामा किमार्थ बाँधिदैन । सीमामा बाँधिएर बनिबनाउ ‘फर्मेट’ मा हालिने सर्जक सृजनशील हुन्छन् भन्नेमा विश्वास छैन मलाई। सच्चा सर्जकले ‘फर्मेट’का सबै सीमा भत्काएर अन्तर्निहित सबै ऊर्जा ओकल्छ। यो आख्यान सीमारहित सिर्जनाकै एक नवीन दृष्टान्त ठान्छु। यस उपर खोट लगाउनुपर्ने कुनै ठाउँ देखिन मैले। सिद्धहस्त हुनुहुन्छ आख्यानकार ।
आख्यानकार भन्नुहुन्छ–मान्छे हिड्छन् र त बाटो पनि जगमगाइरहन्छ। तर मान्छे नै विरानो भएपछि बाटो पनि उजाड नै हुँदोरहेछ। एक छिमेकी परिवार बसाई सरेर जाँदा त मन थाम्न गाह्रो हुन्छ भने व्यक्तिगत, पारिवारिक, सामाजिक सम्बन्ध गाँसिएका हजारौं घरपरिवार एकैपटक उठेर जाँदा सर्जकको जन्मथलो खुदुनावारी कैदले सेरोफेरोका गाउँ र बस्ती र बाटोघाटोहरूमा सहिनसक्नुको ‘सन्नाटा’ अनुभव भयो। यस्तो ‘स्तब्धता’ को महसुस त सबैले गरे होलान तर व्यक्त गर्न त लेख्नसक्ने, साहित्यिक र साहसिक मन नै चाहिँदोरहेछ लेखिका एक साहसी साहित्यिक योद्धा हुनुहुन्छ। यस्ता साहसिक मनका मूर्खहरू चिन्तन गर्छन्, लेख्छन्, पढ्छन्।
उता सज्जनहरू भने मूर्खहरूलाई देखेर खित्का छाडिछाडी हॉसिरहन्छन् ।यसैलाई तिनले आफ्नो धर्म र असल कर्म सम्झन्छन् । आखिर वास्तविकताको ठूलो हिस्सा त यस्तै खित्का छाडेर हाँस्ने अनि खादा लगाउन तछाडमछाड गर्ने सज्जनहरूले ओगट्दा रहेछन् । तत्वबोध वेगरको यान्त्रिक समालोचना गर्नु केहीजनको निमित्त सकाम कर्म होला, तर द्रष्टाको दर्शनबाट प्राप्त अनुभवको गहिराइ, उचाइ र आयतन भेद गर्नु सहज थिएन। ‘नमर्दै स्वर्ग देख्न आतुर’ र ‘नपढि तत्ववेत्ता बन्न लालायित’ ‘सज्जन’हरूको वर्चश्वमा पनि मैले पुस्तकको लेखाजोखा गर्ने आँट गरे। तर न्याय गर्न सकेकी सकिनँ यसको समालोचना गर्ने जिम्मा मैले स्वयम् सर्जकलाई दिएको छु ।
अन्त्यमा, जीवनले भोगेका करूण पीडा र प्रेमानुभावित छालहरू बीचको सम्बन्धलाई आख्यानिक शिल्पशैलीमा प्रस्तुत ‘खुशीको गाउँ’ पुस्तकको समालोचना गर्ने अवसर दिनुहुने खुसीजीका आगामी पाइलाहरू बेलगाम र सतत् अगाडि बढोस् हार्दिक शुभकामना ।




