बिर्तामोड, कात्तिक २९ । संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत नेकपा एमालेले झापा जिल्लाभरिका नेता कार्यकर्तालाई बिर्तामोडमा उतार्दै जिल्लास्तरीय जनजागरण कार्यक्रम गरेको छ ।

जेनजी आन्दोलनपछि अस्तित्वको लडाइँमा रहेको एमालेले जिल्लाका १५ वटै पालिकाका कार्यकर्ताहरुलाई भेला गर्दै आफ्नो शक्तिलाई एकत्रित गर्न खोजेको हो । बिर्तामोडको शनिश्चरे लाइन, भद्रपुर रोड, पश्चिम लाइनबाट आएका र्यालीहरु मुक्तिचोकमा एकमुष्ट जम्मा भई कार्यक्रम स्थल सिटी सेन्टर पुगेर सभामा परिणत भएको थियो । सभामा करिव ४ हजारको संख्यामा नेता कार्यकर्ता सहभागी रहेको अनुमान गरिएको छ । यसअघि नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले जागरण सभामा २० हजार जनाको सहभागिता रहने दावी गरेका थिए ।
सभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय कमिटी सचिव पद्मा अर्यालले संसद पुनर्स्थापना, संविधानको रक्षा तथा असंवैधानिक सरकारी कदमविरुद्ध दबाब सिर्जना गर्न पार्टीले देशभर जागरण सभामार्फत अभियान सुरु गरेको बताइन् । जेनजी आन्दोलनका क्रममा भएका आपराधिक तथा अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गराउन सरकारलाई दबाब दिने उद्देश्यले पनि जनजागरण सभा आयोजना गरिएको उनको भनाई थियो ।
भदौ २३ गतेको आन्दोलनको आक्रोशका कारण भदौ २४ गते विध्वंस भएको भन्ने दावीको खण्डन गर्दै एमाले सचिव अर्यालले भनिन् ‘उक्त घटनाको लागि देशद्रोहीहरुले महिनौदेखि तयारी गरेको पोख्त प्रमाणहरु जुटिसकेको छ । वर्तमान निर्दलीय सरकारले घटनामा संलग्न दोषीहरुको पहिचान गरी कारबाही गर्ने आँट देखाएन भने जनताको मतबाट निर्वाचित प्रतिनिधिको हाम्रो सरकारले अवश्य नै गर्नेछ ।’
नेतृ अर्यालले जेनजी आन्दोलनका मागहरू एमालेको पनि माग भएको दावी गर्दै ती मागहरू उचित ढङ्गले सम्बोधन हुनुपर्ने धारणा राखिन्। जिल्ला अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा भएको जागरण सभालाई जिल्ला कमिटीका सचिवालय सदस्य तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) केन्द्रीय कमिटीका पूर्वसचिव मानोज ताम्ली, केन्द्रीय कमिटीका सदस्य तथा झापा जिल्ला इन्चार्ज रोमनाथ ओली र एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले सम्बोधन गरेका थिए । पार्टी जिल्ला कमिटी सचिव तुलसी कार्कीले सञ्चालन गरेको सो जनजागरण सभामा उपाध्यक्ष शिव ढुंगेलले स्वागत गरेका थिए ।विभिन्न पालिकाबाट कार्यकर्तालाई बिर्तामोडमा ल्याउन ५० भन्दा बढी बसको व्यवस्था गरिएको थियो ।
एमालेको केन्द्रीय कार्यक्रम अनुसार आज देशभर जिल्लास्तरीय जनजागरण कार्यक्रमहरु भएका छन् । कतिपय जिल्लामा जनजागरण सभा गरिएको छ भने कतिपय जिल्लामा मोटरसाइकल र्याली, अन्तरक्रिया जस्ता कार्यक्रम गरिएको जनाइएको छ ।




