झापा,मंसिर १ । नेपाली खेलकुद क्षेत्रकै बहुपतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ।

सोमबार साँझ हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाडौं गोर्खाज भिड्ने भएका छन्। एनपीएलमा जनकपुर र काठमाडौं एक पटक मात्र आमनेसामने भएका छन्। अघिल्लो संस्करणको राउन्ड रोबिन लिगमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो। जनकपुरलाई सहज जित दिलाउन जिमी निसमले सर्वाधिक २७ रन बनाएका थिए।
जनकपुर यस पटक पनि अनिल साहको कप्तानीमा मैदानमा उत्रिँदै छ। मार्की खेलाडी आसिफ शेख भए पनि जनकपुरले कप्तानको जिम्मेवारी भने अनिललाई दिएको हो। यसैगरी काठमाडौंको कप्तानी यस पटक पनि करण केसीले गर्दैछन्।
जनकपुरमा कप्तान अनिल र आसिफसँगै शुभ कंसाकार, मायान यादव, आदित्य महतो, विकास आग्री, ललित राजवंशी, सचिन भट्ट, तुलबहादुर थापा छन्। यस्तै विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका इमरान ताहिर, नामिबियाका जान निकोल लफ्टी इटन, अमेरिकाका लाहिरू मिलान्था र दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरेको छ। जनकपुरले वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनारायण चन्द्रपललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुर दोस्रो संस्करणमा पनि उपाधि रक्षा गर्ने अभियानमा छ। पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका अलराउन्डर जिमी निसम भने यस पटक टोलीमा छैनन्। निसम यस पटक पोखरा एभेन्जर्सको जर्सीमा मैदानमा उत्रिँदै छन्।
यसैगरी करण केसीको कप्तानीमा रहेको काठमाडौं यस पटक उत्कृष्ट सुरुवात गर्ने अभियानमा छ। काठमाडौंले आफ्नो पूर्ण टिम पनि तयार पारिसकेको छ। काठमाडौंमा भारतीय क्रिकेटर सन्नी पटेल, नामिबियाका कप्तान जेरार्ड एरासमस, इङ्ल्यान्डका विकेटकिपर जोन सिम्पसन, दक्षिण अफ्रिकी विकेटकिपर हेनरिक क्लासन, अमेरिकन अलराउन्डर मिलिन्द कुमार र दक्षिण अफ्रिकाका विकेटकिपर रिकार्डो भास्कोन्सेलोसलाई अनुबन्ध गरिसकेको छ। काठमाडौंले करण केसीसहित ६ खेलाडी रिटेन गरेको थियो भने अक्सनबाट मोहमद आदिल आलम अन्सारीलाई टोलीमा भित्र्याएको थियो। काठमाडौंले नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक भारतका मोन्टी देसाइलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्