झापा, मंसिर २ । नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता तथा बिर्तामोड–१० स्थित ठूटेबर टोल विकास संस्थाका अध्यक्ष भोला पाण्डे अघिल्लो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको घरमा पुगेर उनकै हातबाट सदस्यता लिएका पाण्डे भोलिपल्ट पुनः कांग्रेसमै फर्किए ।

राजनीतिक नैतिकता नदेखाएका पाण्डेले सामाजिक संजालमार्फत आफू कांग्रेसमै रहने कुरा उल्लेख गर्दै निसंकोच सजिलै पुरानो पार्टीमा फर्किएका हुन् । उनलाई कांग्रेस छोडेर राप्रपामा जान जति सजिलो भयो, त्योभन्दा बढी सजिलो भयो कांग्रेसमा फर्किन । पार्टी छोडेर गएका र अनि फर्किएर आएका पाण्डेलाई कांग्रेसले ससम्मान ठाउँ दिएको छ । पाण्डे एकजना उदाहरण मात्र हुन् । कांग्रेस र राप्रपामा हेर्ने हो भने एउटा पार्टी छोडेर अर्कोमा जाने फेरि त्यही पार्टीमा फर्किने चलन निक्कै चल्दै आएको छ । पाण्डेजस्तै बिर्तामोडका लक्ष्मी ढकाल पनि कांग्रेस छोडेर राप्रपामा गएका थिए । त्यहाँ बस्न नसकी उनी पुनः कांग्रेसमै फर्किएका छन् । अर्कोतर्फ कुमार भट्टराई , लक्ष्मी गौतमजस्ता नेता राप्रपा छोडेर कांग्रेसमा गएका थिए । उनीहरु त्यहाँ टिक्न नसकी पुनः राप्रपामै फर्किएका छन् । यसरी कांग्रेस र राप्रपामा ओहोरदोहोरको श्रृंखला चल्दै आएको छ ।
त्यसो त राप्रपा पूर्व कांग्रेसीहरुले नै चलाएको देखिन्छ । राप्रपाका अधिकांश नेता कार्यकर्ता कांग्रेसबाट आएका छन् । झापामा राप्रपा थामिदिने भक्ति सिटौला ,राजकुमार पोखरेल, शारदा रिजाल , डम्बर थापा , वेदप्रकाश अग्रवाल , राजकुमार प्रसाई , विनोद आचार्य कांग्रेसकै हुन् ।
कांग्रेसले अलिअलि राप्रपा कार्यकर्ता तानेपनि त्यो भन्दा बढी राप्रपाले कांग्रेस कार्यकर्ता तानेको छ । कम्युनिष्ट विचार भएकाहरु कम मात्रामा राप्रपामा गएका छन् । यसरी एउटा पार्टीबाट अर्को पार्टीमा जानेहरुको भर त्यति धेरै देखिएको छैन । कांग्रेसबाट आएकाहरु उताउला देखिने गरेको तर एमालेबाट आएकाहरुले संगठन बनाएर बसेको राप्रपाका एक नेतृले बताइन् । त्यस्तै बुझाई कांग्रेसको पनि रहेको छ । राप्रपाबाट कांग्रेसमा आउनेहरुलाई पार्टीले नपत्याउँदा उनीहरु पुनः पुरानै पार्टीमा फर्किएका हुन् । निर्वाचन नजिकिदै गर्दा कार्यकर्ता तानातान गर्ने प्रवृति बढ्दै गएको छ ।




