झापा,मंसिर ३ । गत असोज १८ गतेको वर्षापछि गएको पहिरोका कारण इलामको चिया क्षेत्रमा चार कारोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।

पहिरोले चिया सहकारीमा आबद्ध ९७ जना किसानको चिया बगान बगाउँदा चार करोड ७२ लाख ९० हजार रुपियाँभन्दा बढीको क्षति भएको केन्द्रीय चिया सहकारी सङ्घले जनाएको छ ।
जिल्लाका ४१ सहकारीमा आबद्ध किसानको चिया बगानमा क्षति पुगेको सङ्घका महासचिव रविन राईले जानकारी दिए । उनका अनुसार पहिरोका कारण चार चिया किसान परिवारको घरमा पूर्ण र १८ परिवारको घरमा आंशिक क्षति भएको छ ।
“अहिलेसम्म हामीले सहकारीमा आबद्ध चिया किसान र चियाको क्षतिको विवरण सङ्कलन गरेका छौँ । अझै सहकारीमा आबद्ध नभएका साना किसानको क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन,” महासचिव राईले भने, “हामीले चिया क्षेत्रमा भएको क्षतिलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा पेस गरेका छौँ तर अहिलेसम्म कुनै काम र सुनुवाइ भएको छैन ।” राईले चियाका लागि कुनै राहत र अनुदानको काम स्थानीय, प्रदेश र सङ्घ कुनै पनि तहका सरकारबाट नभएको बताएका छन् ।
“इलामका क्षति भएका ४१ सहकारीमा तीन हजार तीन सय किसान आबद्ध छन् । अब क्षति भएका बगानमा पुनः बिरुवा लगाउनुपर्ने अवस्था छ । कति किसानको बगान नै बगेर नष्ट भएको छ । उनीहरूलाई पुनस्र्थापनाका लागि काम गर्नुपर्ने छ । चियाका लागि अहिलेसम्म केही हुन सकेको छैन,” राईले भने, “करिब २५० रोपनी जमिनको चिया पहिरोले बगाएको छ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्