झापा,मंसिर ३ । सरकारले आगामी बर्खे धानबालीका लागि रासायनिक मलको आपूर्ति व्यवस्था सहज पार्न गृहकार्य गरिरहेको छ ।

चैत-वैशाखसम्मका लागि रासायनिक मल पर्याप्त रहे पनि त्यसपछिको धान बालीका लागि डिएपी अभाव हुने देखिएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले व्यवस्थापन गर्न लागेको हो ।
मलको जोहो गर्न बजेटको नै व्यवस्था गर्नुपर्ने देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ मा रासायनिक मल खरिद गर्न २८ अर्ब ८२ करोड १४ लाख रुपियाँ विनियोजन भएको भए पनि नपुगेर बजेट व्यवस्थापन गर्न विभिन्न विकल्पमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।
मल खरिद गर्न अर्थ मन्त्रालयसँग थप १० अर्ब रुपियाँ बजेट माग गरेकामा निर्वाचनका बेला बजेट अपुग हुने भन्दै अर्थमन्त्री रामेश्वर खनालले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न भनेपछि मन्त्रालयले मलको मूल्य समायोजन गर्ने वा आन्तरिक स्रोत व्यवस्थापन गर्ने विषयमा गृहकार्य थालेको छ ।
मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले त्यसका लागि मन्त्रालयमा विनियोजन गरिएको अन्य बजेटबाट रकमान्तर गर्ने वा मूल्य समायोजन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । “पाँच लाख ५० हजार मेट्रिक टन मल खरिद गर्न थप साढे पाँच अर्ब लाग्ने देखिन्छ,” उनले भने, “बजेट खर्च नभएको कार्यक्रमबाट रकमान्तर गरेर बजेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागिरहेका छौँ ।”
उनका अनुसार बर्खे धान बालीका लागि ६० हजार मेट्रिक डिएपी नपुग्ने देखिएको छ । धान रोप्ने बेला मल अभाव नभई कसरी आपूर्ति व्यवस्था सहज गर्न सकिन्छ भनेर गृहकार्य भइरहेको छ ।
चालु आवमा विनियोजन गरेको बजेटले चार लाख ७१ हजार तीन सय मेट्रिक टन मल टेन्डर गरिसकेको मन्त्रालयले जनाएको छ । थप मल किन्न बजेटको खोजी भएको हो ।




