झापा, मंसिर ३ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा उनीमाथि लगाइएको पदअनुसार आचरण नगरेको प्रस्ताव दुईतिहाईले पारित भएको हो ।
सभामुखको विपक्षमा अर्थात् पदअनुसार आचरण नगरेको पक्षमा ७६ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उनको विपक्षमा भने शून्य मत परेको छ । सभामुख मण्डल भने आजको बैठकमा अनुपस्थित रहेका थिए । हाल मधेश प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्य छन् । जसको दुईतिहाई ७२ मत हुन्छ ।
गएको कात्तिक २७ गते उनीमाथि सात दलका ६४ जना प्रदेशसभा सदस्यले पदअनुसार आरचण नगरेको प्रस्ताव दर्ता गराएका थिए । सभामुखको विपक्षमा कांग्रेस, जसपा, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका रहेका थिए । एमाले, राप्रपा र नेपाल संघीय समाजवादीका सांसद भने आज अनुपस्थित रहेका थिए ।
यसअघि प्रदेशसभा सदस्यको पहिलो कार्यकालमा पनि मण्डलले पद गुमाएका थिए । पहिलो कार्यकालमा उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । वाम एकता भएर नेकपा बनेका थिए । त्यसपछि वाम एकता टुक्रिएपछि उनी माओवादीमा नफर्किएर एमालेमा गएको कारण साढे तीन वर्षमा पदमुक्त भएका थिए ।




