झापा, मंसिर ३ । मकालु हिमाल घुम्न गएका दोलखा मेलुङ गाउँपालिका–७ का ४३ वर्षीय अरुण कार्कीको स्वास्थ्य समस्या भएपछि सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डीएसपी कुमारप्रसाद मैनालीका अनुसार कार्कीको मृत्यु भएको जानकारी आएसँगै प्रहरी निरीक्षक मेघराज अर्याल नेतृत्वको टोली घटनास्थलतर्फ खटिएको थियो । टोलीले बुधबार हेली एभरेस्टको हेलिकप्टरमार्फत मृतक कार्कीको शव मकालु बेस क्याम्प नजिकैबाट उद्धार गरेको हो । उनलाई लेक लागेको अनुमान गरिएको छ ।
उद्धार गरिएको शव सोही हेलिकप्टरद्वारा पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पताल दुवाकोट पठाइएको प्रहरीले जनाएको छ । मकालु क्षेत्रमा पछिल्ला दिनहरूमा पर्यटक तथा पदयात्रीहरूको आवागमन बढेसँगै यस्ता आकस्मिक घटनाले सुरक्षात्मक सावधानीमा अझ ध्यान दिन आवश्यक रहेको उनले बताए ।




