झापा, मंसिर ३ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका दुईवटा हतियार र गोली भेटिएको छ ।

पाँचथरको मिक्लाजुङ ३ आरुबोटे भन्ने स्थानबाट म्याग्जिनसहितको .३०३ मार्क ३ राईफल एक थान , म्याग्जिन नभएको बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा एक थान इन्सास ,इन्सासको जंगी राउण्ड एक थान र एसएलआरको जंगी राउण्ड तीन थान गोली भेटिएको हो ।

इलाका प्रहरी कार्यालय दमकमा तोडफोड ,आगजनी र प्रहरीको हातहतियार लुटपाट गरेर फरार रहेका पाँचथर मिक्लाजुङ वडा नं. ३ बस्ने २२ वर्षीय सुशिल फियाक (लिम्बू) लाई हिजो दिउँसो १ः३० बजे दमक वडा नं. ६ बाट पक्राउ गरिएको थियो । लिम्बूलाई सोधपुछ गर्दा उनले लुटेका हतियारहरु मिक्लाजुङ वडा नं. ०३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाई राखेको बताएका थिए । त्यसपश्चात् जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी दमकका प्रहरी निरीक्षक नबिन राईको कमाण्डमा प्रहरी टोली खटिएर ती हतियार बरामद गरेको हो ।

हातहतियार तथा गोलीगठ्ठाहरु बरामद गरी लिम्बूलाई हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कारवाहीको प्रकृया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुईवटा हतियार भेटिएसंगै झापामा प्रहरी कार्यालयबाट लुटिएका अझै २० थान हतियार भेटिन बाँकी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्