झापा, मंसिर ४ । सरुवा भएर इटहरी जान लागेका नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख संजिवकुमार शाहलाई यतिबेला सम्मान थाप्न भ्याई नभ्याई छ ।

अनारमनी वितरण केन्द्रको इन्चार्ज भएर आफ्नो कार्यकालमा सेवाग्राहीहरुका लागि उत्कृष्ट कार्य गरेवापत् विदाई भएर जान लाग्दा उनलाई सम्मान प्रकट गर्नेहरुको संख्या धेरै भएको हो । उनलाई बिर्तामोड नगरपालिका , कन्काई नगरपालिका , बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, कर्मचारी मिलन केन्द्र , बिर्तामोड उद्योग वाणिज्य संघलगायतका कार्यालय र संघ संस्थाहरुले सम्मान गरिसकेका छन् । अन्य संस्थाहरुले सम्मान गर्न बाँकी रहेको छ । सरुवा भएर जान लागेका साहलाई अहिले संस्थागतसंगै व्यक्तिगत रुपमा सम्मानसहित विदाई गरिरहेका छन् । अनारमनी वितरण केन्द्रले भोलि उनको विदाई कार्यक्रम राखेको छ ।
करिव २५ महिने कार्यकालमा शाहले केही महत्वपूर्ण सुधारका कार्यहरु गरेका छन् । अनारमनी वितरण केन्द्रले अघिल्लो आर्थिकमा राजस्व संकलन, सेवा सुधार तथा पूर्वाधार विकासमा उल्लेखनीय उपलब्धि हासिल गरेको हो । आर्थिक वर्ष २०८१/०८२ मा केन्द्रले एक अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन अघिल्लो वर्षको भन्दा ९६ करोड रुपैयाँ करोड बढी हो ।
केन्द्रको भौगोलिक कार्यक्षेत्र बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, मेचीनगरका ११–१४ नं. वडाहरू, शिवसताक्षी नगरपालिका–१ र २, बाह्रदशी र झापा गाउँपालिका , इलामको रोङ २ का केही भाग तथा माई नगरपालिका–५ का आंशिक क्षेत्रका ग्राहकलाई विद्युत सेवा पुर्याउँदै आएको अनारमनी बितरण केन्द्रका प्रमुख शाहले जानकारी दिए । हाल यो विद्युत सेवा केन्द्रमा ग्राहकको संख्या एक लाख बढी रहेको उनको भनाई छ । कुल ग्राहकमध्ये २२ प्रतिशत अर्थात् १ हजार ३१७ औद्योगिक ग्राहक छन् भने ८४९ व्यापारिक, ९७ हजार ९३ घरेलु तथा १५ हजार ९८० अन्य ग्राहक रहेका छन् ।
विद्युत् चुहावट नियन्त्रणमा पनि उनको कार्यकालमा केन्द्रले महत्वपूर्ण प्रगति हासिल गरेको छ । १२ प्रतिशत रहेको चुहावट दर घटाएर १०.५६ प्रतिशतमा झार्न सफल भएको जनाइएको छ । जसका कारण प्राधिकरणले दिएको लक्ष्य पूरा गरेको केन्द्र प्रमुख शाहले बताए।
चुहावट नियन्त्रणका क्रममा ५८ व्यक्तिमाथि कारबाही गरिएको अनारमनी वितरण केन्द्रले जनाएको छ ।
भोल्टेज समस्या समाधानका लागि केन्द्रले चार नयाँ फिडर निर्माण गरी सञ्चालनमा ल्याएको छ । घैलाडुब्बा सबस्टेशनबाट लालमाटीसम्म औद्योगिक फिडर, ११ केभी गोलधाप र ११ केभी दुर्गापुर फिडर चार्ज गरिएको छ । यससँगै गरामनी, कन्काई क्षेत्रको लोड व्यवस्थापन सहज बनेको केन्द्रको दाबी छ । अनारमनी १३२/३३/११ केभी सबस्टेशनअन्तर्गतका सबै ११ केभी फिडरमा अत्याधुनिक उपकरण जडान गरिएका छन् ।
विद्युत वितरण क्षेत्रमा हाल ५६५ ट्रान्सफर्मर सञ्चालनमा छन् । यामध्ये ५० केभीएका ३४, १०० केभीएका ३६८, २०० केभीएका १४१ तथा ३०० केभीएका २२ वटा रहेका छन् ।
ग्राहक सेवा सहज बनाउन केन्द्रले फ्री–वाइफाइ जोन, उजुरी पेटिका, महिला मैत्री शौचालय, सुरक्षाका लागि सीसी क्यामेरा, तातो–चिसो खानेपानी सुविधा, एसीसहितको ग्राहक सेवाकक्ष, टोकन प्रणाली र शिशुस्याहार कक्ष निर्माण गरी सेवा प्रवाहलाई व्यवस्थित बनाएको छ । साथै कार्यालय परिसरमा कर्मचारी तथा स्थानीयको सहयोगमा १८ लाख रुपैयाँको लागतमा विश्वकर्मा बाबा मन्दिर निर्माण गरिएको छ ।
अनारमनी वितरण केन्द्रका प्रमुख शाहको कार्यकालमा ७६ नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । यसअघि भद्रपुर र लालबन्दीमा कार्यरत रहँदा शाह प्राधिकरणद्वारा दुई पटक उत्कृष्ट कार्यालय प्रमुख घोषित भएका थिए । अनारमनी बितरण केन्द्रमा पनि उनले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै चर्चा चुलिएको छ ।
प्राधिकरणले अब बिर्तामोड–४ स्थित पुरानो कार्यालय परिसरमा नयाँ सबस्टेशन निर्माण गर्ने योजना अघि बढाएको छ । जसका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको जनाएको छ ।




