झापा , मंसिर ४ । जितपुरसिमरा उपमहानगरपालिका– २, सिमराचोकमा युवा संघ र जेन–जी समूहबिच भएको झडपपछि बाराको सुरक्षा थप संवेदनशील बन्दै गएको छ।

आज बिहान ११ बजेबाट वीरगन्ज–पथलैया औद्योगिक करिडोर सडकमा जेन–जीहरु पुनः प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीहरूले सिमराचोकमा भएको झडपमा संलग्न व्यक्तिमाथि तत्काल कारबाहीको माग गरेका छन्। झडपमा घाइते हुने अवस्था सिर्जना गर्नेहरूलाई कारबाही नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन्।
जेन–जी र युवा संघबिचको झडपपछि किटानी जाहेरी दर्ता भई दुई वडाध्यक्ष पक्राउ परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ पर्नेहरुमा जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। प्रदर्शन अहिलेसम्म शान्तिपूर्ण रहे पनि माग सम्बोधन नभए दबाब बढाउँदै जाने प्रदर्शनकारीहरूले चेतावनी दिएका छन्।




