झापा, मंसिर ६ । दुर्गा प्रसाई समूहले पत्र पठाएपछि झापाका शिक्षण संस्थाहरुले भोलि बन्द गर्ने भएका छन् ।

जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुले सूचना जारी गरी आ–आफ्‌ना विद्यालय बन्द गर्ने जनाएका हुन् । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्याव्सन झापालाई पत्र पठाउँदै मंसिर ७ गते विद्यालय बन्द गर्न अनुरोधसहित चेतावनी दिएको थियो ।

केन्द्रीय प्रवक्ता माधव कल्पित र संगठन सचिव प्रेमदीप लिम्बूले प्याव्सन झापालाई पत्र पठाउँदै महाअभियानद्वारा २७ बुँदे माग राखी मंसिर ७ गतेबाट घोषित राष्ट्र, नागरिक र धर्म जोगाउने अनिश्चितकालीन नेपाल बन्द कार्यक्रममा आ–आफ्‌ना उद्योग धन्दा, कलकारखाना, बैंक तथा वित्तीय संस्थाहरु, व्यापार –व्यवसाय, शैक्षिक प्रतिष्ठान, यातायात बन्द गरी नागरिक स्तरबाट हुन लागेको अन्तिम र निर्णायक आन्दोलनमा सहयोग पुर्‍याउन अनुरोध गरेका थिए । उनीहरुले बन्द कार्यक्रमको अवज्ञा गरी कोही कसै अज्ञात समूहबाट तोडफोड , आगजनी र लुटपाट भएमा महाअभियान जिम्मेवार नरहने चेतावनीसमेत दिएका छन् ।

झापामा दुर्गा प्रसाई समूहको बन्द हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । बन्द हड्ताल हुन नदिने गरी सुरक्षाको बन्दोबस्त मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्गा प्रसाईका कार्यकर्ताहरु बिर्तामोडमा बढी केन्द्रीत हुने गरेकाले त्यस क्षेत्रमा बाक्लो सुरक्षाकर्मी तैनाथ गरिने जनाइएको छ । बिर्तामोडमा दुर्गा प्रसाई समूहको शुक्रवारको प्रदर्शन र बिहीवार साँझ गरिएको मसाल जुलुसको सहभागी संख्यालाई आँकलन गरी सोही अनुसार सुरक्षा व्यवस्थाको तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्