झापा, मंसिर ७ । करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा करिव चार महिनामा ७ जनाले ज्यान गुमाएका छन्।

हिजो एकैदिन बिर्तामोड र गौरादहमा गरी दुईजनाको मृत्यु भएको हो । बिर्तामोड वडा न.७ मियाबारीस्थित रेखा खोलामा करेन्ट लगाएर माछा मार्दा आनन्द चौधरीको मृत्यु भयो । गएराति वडा नं ६ बस्ने ५२ वर्षीय आनन्द चौधरीसंग सोही ठाउँ बस्ने ४८वर्षीय पुरन चौधरी र वडा नं ७ बस्ने ३२ वर्षीय श्याम चौधरी करेन्ट लगाएर माछा मार्न रेखा खोला गएका थिए । माछा मार्ने क्रममा आनन्दलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने प्रयास गर्दा गर्दै मृत्यु भएपछि पुरन र श्यामले खोला किनारमा शव छोडेका थिए ।
करेन्ट लगाएर माछा मार्ने क्रममा आनन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले पुष्टि गरे । उनले घटनास्थलबाट करेन्ट लगाएर माछा मार्ने तार बरामद भएको जानकारी दिए । करेन्ट लगाएर माछा मार्दै आएका आनन्दको सहयोगीका रुपमा पुरन र श्याम गएको बताइएको छ । आनन्दलाई करेन्ट लागेपछि उनीहरुले एम्बुलेन्स बोलाएर उपचारका लागि लैजान खोजेका थिए । तर, उपचारका लागि लैजान नपाउँदै आनन्दको मृत्यु भएको थियो ।
अनुसन्धानको क्रममा पुरन र श्यामलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।राति १बजे कानुनी प्रकृया पुरा गरी मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
हिजै झापामा करेन्ट लगाएर माछा मार्दा अर्का एकजनाको मृत्यु भएको थियो । हिजो दिउँसो १२ः२० बजे गौरादह वडा नं ६ र गौरीगंज वडा नं ६ को सिमाना पर्ने रामचन्द्रे खोलामा गौरादह ६ आरतिनगर बस्ने ५० वर्षीय रामकुमार ताजपुरियाले करेन्ट लगाएर माछा मार्दा आफैलाई करेन्ट लागेर उनको मृत्यु भएको थियो ।
त्यस्तै गत कात्तिक २२ गते करेन्ट लगाएर माछा मार्दा मेचीनगरमा एकजनाको मृत्यु भएको थियो ।
बिहान १०ः३० बजे मेचीनगर वडा न.४ बाहुनडाँगी बस्ने ५५ वर्षीय विकास प्रधानले आफ्नै माछा पोखरीमा हात्ती रोकथामको लागि लगाएको फेन्सिङ तारबाट जडान गरी पोखरीमा माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो । घाइते प्रधानलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषणा गरेका थिए । साथै पोखरी छेउमा बाँधिएको गाईसमेत करेन्ट लागेर मरेको थियो ।
त्यस्तै कात्तिक २ गते करेन्ट लगाएर माछा मार्दा कचनकवलमा एकजनाको मृत्यु भएको थियो ।
दिउँसो १ः१० बजे कचनकवल गाउँपालिका वडा नं २ बस्ने ४९ वर्षीय लोकबहादुर गाइने सोही ठाउँमा रहेको अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्न गएका थिए । माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गाइनेको मृत्यु भएको थियो ।
त्यस्तै गत असोज ३० गते करेन्ट लगाएर माछा मार्दा मेचीनगरमा एक व्यक्तिको मृत्यु भएको थियो ।
दिउँसो २.३० बजे मेचीनगर –१५ निलकोठी बस्ने ४२ वर्षीय सन्तोष लिम्बूले घरनजिकै रहेको टिमाई नहर (कुलो)मा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।बेहोस भएका लिम्बूलाई उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसअघि गत भदौ ४ गते कमलमा करेन्ट लगाएर माछा मार्दा एक युवकको मृत्यु भएको थियो ।
दिउँसो अन्दाजी २ बजे कमल गाउँपालिका –३ खानेपानी टोल बस्ने २१ वर्षीय उज्वल राई सोही ठाउँमा रहेको ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्न गएका थिए । माछा मार्ने क्रममा राई आफैलाई करेन्ट लागेको थियो ।
घाइते भई उनी लडिरहेको अवस्थामा आफन्तले देखेर उपचारको लागि लाइफलाइन अस्पताल दमकमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै गत साउन २५ करेन्ट लगाएर माछा मार्दा हल्दिवारीमा एकजनाको मृत्यु भएको थियो ।
साँझ ५.४० बजे संखुवासभा चैनपुर वडा नं. २ घर भई हाल हल्दिवारी वडा नं. ४ ऐनावारीमा रहेको मैनाली हाते कागज खरिद बिक्री केन्द्रमा काम गर्ने बर्ष ३०/३१ का रामकुमार अधिकारी नजिकै रहेको खोल्सामा करेन्ट लगाइ माछा मार्न गएका थिए । माछा मार्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
झापामा करेन्ट लगाएर माछा मार्दा ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । माछाको लोभमा ज्यान गुमाउनेमा सवै सर्वसाधारण हुन् । करेन्ट लगाएर माछा मार्नु गैरकानूनी भए पनि लुकिछिपी यस्ता गतिविधि भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए । उनले करेन्ट लगाएर माछा मार्दा ज्यान जान्छ भनेर सर्वसाधारणलाई सचेतना दिने कार्य प्रहरीले गरिरहेको जानकारी दिए ।
करेन्ट लगाएर माछा मार्नु गैरकानूनी कार्य हो। तर खोला, कुलोमा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन। यसरी माछा मार्ने क्रममा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ।
जलचर संरक्षण ऐन, २०१७ ले यस्ता गतिविधि गरेको भेटिएमा ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।
ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै व्यक्तिले सार्वजनिक जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी जलको आसपासमा विद्युतीय धार प्रवाह (करेन्ट) वा विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न पाइँदैन। यदि कोही कसैले यो कानून उल्लंघन गरेमा वा दुरुत्साहन गरेमा स्थानीय अधिकारीको आदेशले कसूरको मात्रा हेरी हानि–नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति गराई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’



