झापा, मंसिर ९ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडका ओमप्रकाश लुईटेलसहित चारजनालाई पदमुक्त गरेको छ ।

नागरिक बचाउ महाअभियान नेपालका सचिवालय सदस्य, युवा तथा खेलकुद बिभाग संयोजक बिष्णुजङ्ग बस्नेत र केन्द्रीय सदस्य तथा पीडीएफ सह–संयोजक गोपाल बोहरालाई सबै जिम्मेवारीबाट हटाई निष्कासन गरिएको हो ।

त्यस्तै अभियानले सचिवालय सदस्य ओमप्रकाश लुईटेल र केन्द्रीय सदस्य तथा मेची अञ्चल सहसंयोजक प्रकाश उप्रेतीलाई सबै जिम्मेवारीबाट हटाई निलम्बन गरिएको छ ।

अभियानका सङ्गठन बिभाग प्रमुख प्रेम थापा मगर र सङ्गठन बिभाग सचिव प्रेमदिप लिम्बूले आज प्रेस विज्ञप्ति जारी गरी अभियानको लक्ष्य, एकता बिश्वासलाई धुमिल पारी खलल पुर्‍याएको, अभियन्ताहरुबिच गलत भ्रम फैल्याउने कार्य गरेको, पीडितहरुलाई न्याय दिनु पर्नेमा उल्टै पीडितहरुबाट आर्थिक असुलीको धन्दा चलाउने कार्य गरेको, सङ्गठनमा गुट बनाई अराजकता फैलाएको, पीडित नागरिकहरुको कागजपत्र जफत गरी, ब्ल्याकमेलिङ गरी आर्थिक मोलमोलाई गरेको, सङ्गठनको चेनअफ कमान्ड पटकपटक अनुशासनको उल्लंघन गरेको, नेतृत्व र महाअभियानलाई गम्भीर क्षति पुर्‍याउने कार्य गरेकोले आजको मितिबाट लागु हुनेगरी उनीहरुलाई सबै प्रकारको जिम्मेवारीहरुबाट पद मुक्त गरिएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा कार्वाही गरिएकाहरुसँग अभियानका अभियन्ताहरुले कुनै पनि प्रकारको संगत र गतिविधि नगर्न हुन सचेत गराइएको छ । यदि पीडितहरु कार्वाही गरेकाहरुसँग फसे अभियान अथवा आफ्‌नो संगठन जिम्मेवार नहुने समेत सचेत गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्