लक्ष्मी उप्रेती
मेचीनगर । बंगलादेशबाट भारत हुँदै रोहिंग्या मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दै पूर्वी नेपालको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

भारत छिरेका बंगलादेशका रोहिंग्या मुसलमानहरु अवैध तरिकाले नेपालमा समेत प्रवेश गर्न लागेकाले नेपाल —भारत सीमा क्षेत्रमा कडाइ गरिएको हो । भारतको पश्चिम बंगाल र उत्तर प्रदेश राज्यबाट बंगलादेशी रोहिंग्या मुसलमानहरु नेपाल प्रवेश गर्न खोजेको आशंका गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको एनडीए सरकारले पश्चिम बंगाल र उत्तर प्रदेश राज्यमा मतदाता शुद्धीकरण (एस.आइ.आर.) कार्यक्रम सञ्चालन गरिरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ नेतृत्वको सरकारले लुकिछिपी बसोबास गरिरहेका बंगलादेशका रोहिंग्या मुसलमानका लागि शरणार्थी शिविर स्थापना गरेको छ । खोजी खोजी बंगलादेशी रोहिंग्या मुसलमानलाई शिविरमा राख्न थालेपछि त्यहाँ भागाभागको अवस्था छ । खुल्ला सिमानाका कारण उनीहरु सहज र सरल तरिकाले नेपाल प्रवेश गर्नसक्ने देखिएको छ ।

बंगलादेशमा देखिएको राजनीतिक संकट र हिंसाका कारण धेरै रोहिंग्या मुसलमानहरु भारत छिरेका छन् । उनीहरु नेपाल प्रवेश गर्ने सम्भावना बलियो छ । पछिल्लो समय बंगलादेशमा हिंसा बढेसँगै भारतको बाटो हुँदै नेपालमा बंगलादेशीहरु प्रवेश गर्न सक्ने सूचना आएपछि स्थानीय प्रशासनले सतर्कता अपनाएको हो । खासगरी नेपाल प्रवेशको काँकरभिट्टा, भद्रपुर तथा गौरीगञ्ज नाकाहरु र अन्य स्थानमा समेत सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘यसै विषयलाई लिएर जिल्लास्थित सुरक्षा समितिको बैठक समेत सम्पन्न भएको छ’ सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले भने,‘आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका सचिवसहितको उपस्थितिमा समेत बैठक बसेको थियो । बैठकमा यो विषयमा कुरा उठेको थियो ।’

यसैगरी झापाका सबै प्रहरी कार्यालयका अधिकारीहरुलाई सतर्क राखिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले आज जिल्लाका प्रहरी अधिकारीहरुको बैठक राखी नाकाहरुमा कडाई गर्न र बंगलादेशबाट रोहिंग्या मुसलमानहरु छिरेको आशंका भए पक्राउ गरी कार्वाही गर्न निर्देशन दिएको बुझिएको छ ।

झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सिमाना रहेको छ । खुला सिमानाको फाइदा उठाउँदैं कसैले पनि गलत क्रियाकलाप गर्न नसकून् भनेर भारतसँग सीमा जोडिएका नेपालतर्फको नाकामा प्रहरीले उच्च निगरानी बढाएको कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईले बताए ।

केही दिनअघि अबैधरुपमा काँकरभिट्टा नाका हुँदैं बंगलादेशी नागरिक नेपाल छिर्न लागेको गोप्य सूचना प्रशासनलाई प्राप्त भएको थियो । त्यसलगत्तै नेपाली सुरक्षा अधिकारीहरुले हरेक नाकाहरुमा उच्च सतर्कता अपनाएको र निगरानी बढाएको कार्यालयको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्