झापा, मंसिर १० । एमालेको ११औं महाधिवेशनमा उठ्ने तयारी गरेको वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्यानलको असर अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा समेत पर्ने देखिएको छ ।

झापामा आजदेखि महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रम शुरु हुँदैछ । त्यसमा वरिष्ठ उपाध्यक्ष पोखरेलका पक्षधरहरु प्रतिष्पर्धामा उत्रिने भएका हुन् । झापामा १८ हजार ३३४ जना पार्टीका संगठित सदस्य रहेका छन् । उनीहरुबाट ३६ जना महाधिवेशन प्रतिनिधि छानिने छन् । जिल्लाका पाँचैवटा निर्वाचन क्षेत्रमा आजदेखि महाधिवेशन प्रतिनिधि छनौट कार्यक्रम शुरु हुन लागेको हो । आज मतदाता नामावली प्रकाशन गरिने भएको छ भने भोलि उम्मेद्वारी दर्ता रहेको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। त्यसकारण जिल्ला जिल्लामा उनका समर्थकहरु तयारीमा जुट्न थालेका हुन् ।

‘झापामा हाम्रो प्यानलको पनि राम्रो उपस्थिति रहेको छ’ पोखरेल निकट एक पार्टी नेताले भने । भोलि आफ्‌ना प्यानलका व्यक्तिहरुले पनि उम्मेद्वारी दिने उनले बताए । भरसक सर्वसम्मतमा महाधिवेशन प्रतिनिधि छनौट गर्ने , त्यसो नभए निर्वाचन गराउने तयारी रहेको छ । झापामा पार्टीका केन्द्रीय सदस्य रविन कोइरालालगायतका नेता कार्यकर्ता पोखरेलको पक्षमा देखिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्