झापा,मंसिर १० । अध्यागमन विभागले अध्ययन भिसाको दुरुपयोग रोक्न अनुरोध गरेको छ ।

विभागले शैक्षिक संस्थाहरूलाई भिसा र आम्दानीको प्रयोजनका लागि मात्र विदेशी विद्यार्थी भर्ना नगर्न अनुरोध गरेको हो ।
बुधबार विभागले एक विज्ञप्ति जारी गर्दै केही शैक्षिक संस्थाहरूलाई आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए वा नभएको यकिन गरेर मात्र भिसा सिफारिस गर्न निर्देशन दिएको हो ।
विभागका निर्देशक टीकाराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ’कतिपय संस्थाहरूले आम्दानीको दृष्टिकोणले मात्र विद्यार्थी भर्ना गर्ने र लामो अवधिको नेपाल बसाइका लागि वैकल्पिक उपायका रूपमा अध्ययन भिसा लिन चाहने विदेशीहरूलाई समेत सिफारिस गरेको पाइएको छ ।’
विभागले पठनपाठन भन्दा बाहेक अन्य शंकास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन पनि आग्रह गरेको छ ।
विभागले केही विदेशी विद्यार्थीहरूले नियमित रूपमा कक्षामा सहभागी नभएको, नक्कली कागजात पेस गरेको र कोर्स पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेस गर्न नसकेको समेत खुलाएको छ ।
केही विदेशी विद्यार्थीहरू गैरकानूनी कार्यमा संलग्न रहेको देखिए पनि सम्बन्धित संस्थाहरूले विभाग वा स्थानीय प्रशासनलाई सूचना नदिएको विभागको गुनासो समेत छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्