झापा,मंसिर १० । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट र श्रम भिसाका लागि नेपाली नागरिकका लागि प्रहरी रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्ने नियम लागू गरेको छ ।

काठमाडौंस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।
यूएईले भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सुरक्षा कारण देखाई नेपालीका लागि भिजिट र श्रम भिसा जारी गर्न बन्द गरेको थियो । यसको औपचारिक जानकारी भने नेपाललाई दिएको थिएन ।
यूएई दूतावासले अहिले भने सबै प्रकारका भिसा खुल्ला गरिएको जानकारी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रहरी रिपोर्ट लिई नेपालीका लागि भिसा खुल्ला गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आएको थियो ।
भिसा बन्द हुँदा यूएई सरकारबाटै वर्क परमिट (श्रम अनुमति) जारी गरिएका झन्डै ५ हजार नेपाली श्रमिक रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदैछ ।
यूएई नेपालीका लागि प्रमुख गन्तव्य हो । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनेमध्ये झन्डै ४० प्रतिशत यूएई जाने गर्छन् । आर्थिक वर्ष २०८१÷०८२ को तथ्यांकअनुसार यूएई जानका लागि २ लाख १ हजार १४८ जनाले श्रम स्वीकृति लिए । यो तथ्यांक पुनः श्रमस्वीकृतिबाहेकको हो ।
पुनः श्रमस्वीकृतिसमेत हेर्ने हो भने यो संख्या २ लाख ७४ हजार ५९० जना हुने वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।



