झापा,मंसिर १० । कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा सङ्कट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत मिलेको छ ।

छुर्पीको माग धान्न निजी क्षेत्रको अग्रणी निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीसँग ठुलो परिमाणमा ‘छेना’ (दुध फटाएर बनाइने वस्तु) खरिद गर्न थालेपछि दुवै पक्षलाई लाभ मिलेको हो ।
पछिल्लो समय डिडिसीले बजार गुमाउँदै गएर दुध बिक्री गर्न सकिरहेको थिएन । त्यसै क्रममा मनराम हिमालयनले डिडिसीको विराटनगर आयोजनाबाट मासिक २५ हजार किलो छेना खरिद गरिरहेको छ ।
डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार निजी उद्योगले छेना उठाइदिँदा संस्थानलाई ठुलो राहत मिलेको छ । “बजारमा दुध नबिक्दा हामीले पाउडर बनाउनुपर्ने बाध्यता थियो, जसको लागत महँगो पर्छ, उनले भने, “अहिले छेना बनाएर सिधै बिक्री गर्न थालेपछि पाउडर प्लान्ट कहिलेकाहीँ मात्र सञ्चालन गरे पुग्ने भएको छ ।”
निजी क्षेत्रको मनराम हिमालयनलाई पनि यसले फाइदा पुगेको छ । कम्पनीका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार डिडिसीबाट तयारी छेना पाउँदा दुध सङ्कलन गर्ने र त्यसलाई फटाएर छेना बनाउने प्रोसेसिङको झन्झट र खर्च बचत भएको छ । डिडिसी विराटनगरका प्रमुख मगरले छेना बिक्री गर्न पाउँदा आयोजनालाई केही राहत पुगेको बताए ।
झापामा मुख्य कार्यालय रहेको मनराम हिमालयन ह्यान्डीक्राफ्टले कोशी प्रदेशबाट ‘डगच्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी उत्पादन तथा सङ्कलन गरी अमेरिका निर्यात गर्दै आएको छ ।



