झापा, मंसिर १० । झापा गौरादहका एक व्यक्तिले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई सर्लाहीमा आत्मदाह गरेका छन् ।

गौरादह नगरपालिका २ निवासी ५५ वर्षीय सूर्यप्रसाद पोखरेलले सर्लाहीको लालबन्दी नगरपालिका –७ डुमडुमे मन्दिरनजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह गरेका हुन् ।
घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको क्रममा जनकपुर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार हिजो साँझ करिब ७ः४० बजे उनले आफैं शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए । स्थानीयले आगो लगाएको देखेपछि इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक बिरेन्द्रसिंह जोहारीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेपछि जलेर घाइते भएका उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्याएको थियो। आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेकोले उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।
पोखरेलको उपचारकै क्रममा आज विहान मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत भएको हो। मोबाइलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क गरेपछि मृतकका आफन्तहरू सम्पर्कमा आएको प्रहरीले जनाएको छ। पोखरेलले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने कारण हालसम्म खुलेको छैन । प्रारम्भिक जानकारी अनुसार पोखरेल केही समयदेखि प्रायः घरमा नबस्ने र मठमन्दिरमा बस्ने गरेको पाइएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ । मृतकका आफन्त आज बिहान झापाबाट जनकपुर गएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।



