झापा, मंसिर ११ । झापामा लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् ।

दमकमा दुईजना र बिर्तामोडमा एकजना पक्राउ परेका हुन् । हिजो दिउँसो २ः३० बजे दमक वडा नं. १ रवि स्टेन्ड छेउमा रहेको आरक्यु होटलमा कोठा बुक गरी बसेका दमक वडा नं. ७ स्थायी घर भई हाल दमक १ सिर्पाली चौक बस्ने २५ वर्षीय रामकुमार गौतम र मोरङ उर्लावारी वडा नं. ८ दुर्गापुरी बस्ने ३० वर्षीया ललिता धिमाल लागूऔषधसहित पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले होटलको तेस्रो तलाको ४ नं. कोठा बुक गरी बसेका गौतम र धिमालको शरीर तथा उक्त कोठामा खानतलासी गर्दा प्लाष्टिकबाहेक ८ ग्राम ब्राउनसुगर र २८ हजार नगद फेला परेको थियो । उनीहरुलाई नियन्त्रणमा लिई इप्रका दमकमा ल्याइ थप अनुसन्धान भइरहेको छ ।
त्यस्तै हिजो साँझ ६ बजे बिर्तामोड ३ सैनिकमोडमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने ३५ वर्षीय प्रफुल्ल राजवंशीलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिकमा पोको पारेको प्लाष्टिकबाहेक ४ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



