झापा, मंसिर १५ । पुनः मतगणनाबाट अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन नेकपा एमालेको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

विवादका कारण स्थगित भएको मतगणनालाई रद्ध गरी शुरुबाटै मतगणना गर्दा नगर प्रमुख गोम्देन खुल्लातर्फको पाँचजना महाधिवेशन प्रतिनिधिको कोटामा पर्न सफल भएका हुन् । खुल्लातर्फ कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की , प्रदेश सांसद चिन्तन पाठक, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी , बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराई , अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन निर्वाचित भएका छन् । कार्कीले १७१६ ,भट्टराईले १५०१ ,गिरीले १४६८ ,पाठकले १४१४ र गोंम्देंनले १४०६ मत ल्याएका छन् ।

हिजो बिहानको राति २.३५ बजे विवादका कारण मतगणना स्थगित भएको थियो । छलफलमा पुनः सुरुबाटै मतगणना गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार पुनः मतगणना गरिएको हो ।

महाधिवेशन प्रतिनिधिको खुल्लातर्फको प्रतिष्पर्धामा कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री कार्की , प्रदेश सांसद पाठक, नेकपा एमाले झापाका अध्यक्ष गिरी , बिर्तामोड नगर अध्यक्ष भट्टराई , अर्जुनधारा नगरपालिकाका नगर प्रमुख गोम्देन र पेशागत महासंघका स्थायी कमिटी सदस्य एवम् १ नं प्रदेश अध्यक्ष देवराज कार्कीबीच कडा टक्कर देखिएको थियो । खुल्लामा १९ जना प्रतिष्पर्धी रहेका थिए । तर ६ जनाबीच कडा प्रतिष्पर्धा देखिएको थियो । पाँचजना महाधिवेशन प्रतिनिधि छानिनु पर्नेमा ६ जनामध्ये एकजना महाधिवेशन प्रतिनिधि बन्न नपाउने अबस्था थियो । नगर प्रमुख गोम्देन ६ जनामध्ये सबैभन्दा पुछारमा रहेका थिए ।

बिहानको राति बिर्तामोड ४ स्थित एमालेको जिल्ला पार्टी कार्यालयमा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख गोम्देनको नामबाट आएको सदर मतलाई बदर बनाई गन्ती नगरेको भन्दै १२/१५ जनाको स्थानीय युवाहरुले विवाद गरेका थिए । त्यसपछि मतगणना रोकिएको थियो ।सदर मतलाई बदर मत गन्ती गरेको र केही मतपत्र च्यातेको भन्दै नगर प्रमुख गोम्देन पक्षधरहरुले शुरुदेखि नै पुनः मतगणना गर्नुपर्ने अडान राखेका थिए । पुनः मतगणनामा नगर प्रमुख गोम्देनले जित्दा पेशागत महासंघका स्थायी कमिटी सदस्य एवम् १ नं प्रदेश अध्यक्ष कार्कीले पराजय बेहोर्नु परेको छ ।

झापा क्षेत्र नम्बर २ बाट एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा एक मन्त्री, दुई मेयरसहित ९ जना निर्वाचित भएका छन् ।

कोशी प्रदेशका खानेपानी तथा सिँचाई मन्त्री एकराज कार्की सर्वाधिक मतसहित निर्वाचित हुँदा सो क्षेत्रमा महिलातर्फ सर्वाधिक मतसहित बिर्तामोड नगरपालिकाका मेयर पवित्रा महतारा प्रसाई १८८०, पवित्रा पाठक १६५८ र सुनिता खरेल १५८८ मतसहित निर्वाचित भएका छन् । युवातर्फ खगेन्द्रराज आङदेम्वे १४७७ मतसहित निर्वाचित भएका छन् ।

सो क्षेत्रमा खुल्ला ५, महिला ३ र एक जना युवा प्रतिनिधिका लागि निर्वाचन भएको थियो । निर्वाचनमा २७ जना उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्