झापा, मंसिर १६ । झापाको दमकमा गोठमा आगलागी हुँदा एउटा गाई जलेर मरेको छ भने अर्को घाइते भएको छ ।

आज बिहान ११ः३० बजे दमक १० सगरमाथा टोल बस्ने केशब भण्डारीको घरनजिकै रहेको खेतबारीमा धानको लारमा आगो लगाउने क्रममा उक्त आगो फैलिई सोही स्थानमा रहेको परालको कुन्यूमा सल्किएको थियो । त्यसपछि नजिकै रहेको इटाको गारो, टिनको छानो भएको गाईवस्तु बाँध्ने दुईवटा गोठमा आगलागी भएको थियो ।
आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठभित्र रहेको एउटा गर्भिनी गाई मरेको छ । त्यस्तै अर्को गाई घाइते भएको छ । सोही गोठमा राखिएको काठ, भाँडावर्तन, अन्नपातसमेत जलेर नष्ट हुँदा अन्दाजी ८ लाख बराबरको धनमाल क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी, स्थानीयबासी, उर्लाबारी र कमलको दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



